इजिप्टमा भएको दमनप्रति अन्तर्राष्ट्रिय चिन्ता

  • 15 अगस्ट 2013
इजिप्टको हिंसा
Image caption हिंसामा मर्ने मानिसको संख्या ठ्याक्कै कति हो भनेर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन

ब्रिटेन अमेरिका र छिमेकी टर्की लगायतका देशहरुले इजिप्टमा विपक्षी समर्थकहरुमाथि बल प्रयोग गरिएको भन्दै निन्दा गरेका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले पछिल्लो हिंसा इजिप्टमा जारी मेलमिलापका प्रयासमाथि गम्भीर धक्का भएको बताए।

युरोपेली संघ ईयुकी विदेश मामिला प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले पनि दमनको आलोचना गरेका छन्।

विपक्षी समर्थकहरु र सुरक्षाकर्मी सहित कयौंको ज्यान जाने गरि हिंसा भडकिएपछि संकटकाल लगाइएको इजिप्टका शहरहरुमा रातभर कर्फ्यु लगाइएको थियो।

बचाउ

आन्तरिम प्रधानमन्त्री हाजेम बेब्लावीले सुरक्षा व्यवस्था कायम गर्न कायरोका सडकमा कयौ दिन देखि जारी सरकार विरोधी धर्नाहरु तोडिएको बताए।

उनले अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका समर्थकहरुको भीड तितरवितर गर्ने निर्णय सजिलो नभएको टिप्पणी गरे।

इजिप्ट सरकारको भनाइमा देशभर २३५ जनाको ज्यान गएको छ।

सरकारविरोधी प्रदर्शनको समर्थक मुस्लिम ब्रदरहुडले हिंसामा २,००० भन्दा बढीको ज्यान गएको बताएको छ।

सरकारी विरोधी प्रदर्शनकारीहरुमाथि कारवाही गर्ने क्रममा सुरक्षा फौजले आफ्नो पेशागत दक्षता देखाएको अधिकारीहरुले बताए।

कायरोका सडकमा र इजिप्टभर भएका कारवाहीका क्रममा मोर्सीका समर्थकहरुले अवरोध र हतियार सहित प्रतिकार गरेपछि हिंसा भडकिएको उनले बताए।

संकटकाल

उनले मानिसहरुको ज्यान गएकोमा दु:ख व्यक्त गर्दै एक महिनाको लागि लगाइएको संकटकाल जतिसक्दो छिटो अन्त्य गरिने बताए।

विरोधीहरुको मुख्य अड्डा राबा अल अदाविया मस्जिद र वरपरका क्षेत्रहरुमा सांझसम्म प्रदर्शनहरु जारी थिए।

मुस्लिम ब्रदरहुडका एक नेताले प्रदर्शनहरु शान्तिपुर्ण रहेको बताउदै अन्तराष्ट्रिय समुदायलाई चुप लागेर नबस्न आग्रह गरे।

“प्रदर्शनहरु शान्तिपूर्ण थिए, अन्तराष्ट्रिय संघ संस्था, युरोपेली प्रतिनिधि र मानवअधिकारवादीहरुले यो नरसंहार रोक्न कदम चाल्नु पर्छ, तपाईहरु चुप लागेर बस्न मिल्दैन।”

कायरोका विरोध शिविरहरुमा रहेका अपदस्थ राष्ट्रपति मोर्सीका समर्थकहरु माथि सुरक्षाकर्मीले बुधबार दिनभर गरेको कारवाहीमा मानिसहरुको ज्यान गएको थियो।

कारवाहीका क्रममा कयौ प्रहरीको पनि ज्यान गएको आन्तरिक मन्त्रीले बताए।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बुलडोजरको समेत प्रयोग भएको थियो।

कायसोस्थित संवाददाताहरुले हिंसामा थुप्रै मानिसको ज्यान गएको देखेको बताए, तर मर्नेको संख्या ठ्याक्कै कति हो भनेर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।