'रक्तपातपछि कायरो शान्त तर तनावग्रस्त'

  • 15 अगस्ट 2013
Image caption इजिप्टमा बुधवारको हिंसामा झण्डै ५०० जना मारिएका सरकारी अधिकारीहरूले बताएका छन्

इजिप्टमा इस्लामीहरूमाथि गरिएको कारवाहीले सयौंको ज्यान लिएपछि र त्यसले अन्तर्राष्ट्रिय निन्दा निम्त्याए पश्चात राजधानी कायरो शान्त तर तनावग्रसेत रहेको बताइएको छ।

बुधवारको रक्तपातपूर्ण दिनपछि संकटकाल घोषणा गरिएको थियो।

दुई वर्षअघि प्रजातन्त्रको समर्थनमा भएको आन्दोलनपछि त्यो सबैभन्दा हिंसात्मक दिन थियो।

बर्खास्त गरिएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरूले राजधानी शहरमा गत महिना खडा गरेका शीवीरहरूमा सुरक्षाकर्मीहरूले कारवाही गरेपछि ५०० भन्दा बढीको ज्यान गएको अधिकारीहरूले स्वीकारेका छन्।

बीबीसीका खालेद एज्जेलराबले बुधवारको मुख्य प्रदर्शनस्थल रब्बा अल अदाविया चोक नजिकैको एमान मस्जिदमा कम्तिमा १४० वटा शवहरू कात्रोमा बेरिएको देखेको बताएका छन्।

फोहोर उठाउनेहरूले सो ठाउँमा रहेको प्रदर्शनकारीहरूको शीवीरमा बचेका चीजहरू हटाइरहेका र सैनिकहरूले पाल तथा खम्बाहरू भत्काइरहेका देखिन्थे।

मस्जिदको बाहिरी भागमा आगो लगाइएको एउटा गाडी उल्ट्याइएको अवस्थामा देखिन्थ्यो।

स्थानीय बासिन्दाहरूले त्यो कार एक प्रहरीको भएको र ती सुरक्षकार्मीले गोली चलाउन खोज्दा उनलाई अन्त्यै लगिएको बताए।

मारिएकाहरूको संख्या

बुधवार दुई ठाउँमा धर्ना दिएका प्रदर्शनकारीहरूलाई समर्थन गरेको मुस्‌लिम ब्रदरहुडले बुधवार मारिएकाहरूको संख्या २,००० भन्दा बढी भएको बताएको छ।

अन्तरिम प्रधानमन्त्री हाजेम बेब्लावीले सुरक्षा व्यवस्था कायम गर्न कायरोका सडकमा कयौं दिन देखि जारी सरकार विरोधी धर्नाहरु तोडिएको बताए।

उनले मोर्सीका समर्थकहरुको भीड तितरवितर गर्ने निर्णय सजिलो नभएको टिप्पणी गरे।

सरकारी विरोधी प्रदर्शनकारीहरुमाथि कारवाही गर्ने क्रममा सुरक्षा फौजले आफ्नो पेशागत दक्षता देखाएको अधिकारीहरुले बताएका छन्।

कायरोका सडकमा र इजिप्टभर भएका कारवाहीका क्रममा मोर्सीका समर्थकहरुले अवरोध र हतियार सहित प्रतिकार गरेपछि हिंसा भड्किएको उनीहरूले जनाएका छन्।

आह्वान

फ्रान्स र जर्मनीले इजिप्टका राजदूतहरूलाई बोलाइ कायरोमा हिंसाको अन्त्य गर्न आह्वान गरेको छ।

त्यसअघि ब्रिटेन, अमेरिका र छिमेकी टर्की लगायतका देशहरुले इजिप्टमा विपक्षी समर्थकहरुमाथि बल प्रयोग गरिएको भन्दै निन्दा गरेका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले पछिल्लो हिंसा इजिप्टमा जारी मेलमिलापका प्रयासमाथि गम्भीर धक्का भएको बताए।

युरोपेली संघ ईयुकी विदेश मामिला प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले पनि दमनको आलोचना गरेका छन्।