इजिप्टमा थप हिंसा

  • 16 अगस्ट 2013
रबा अदविया मस्जीद
Image caption शुक्रबारको प्रार्थनापछि सडकमा उत्रन विपक्षी मुस्लीम ब्रदरहुडले समर्थकहरुलाई भनेको छ

इजिप्टका सुरक्षा दलहरुले बुधबार भएको रक्तपातको विरोधमा आक्रोश दिवस मनाइरहेका मुस्लिम ब्रदरहुड समर्थकहरुमाथि गोली चलाएका छन्।

कायरोको मध्यभागमा अवस्थित रामसे स्क्वायर पुगेका बीबीसीका मध्यपूर्व सम्पादकले कम्तीमा एघारजना प्रदर्शनकारीहरु मारिएका तथा अरु कैयौं घाइते भएका जनाए।

इस्माइलिया तथा दामियता शहरहरुमा भएका भीडन्तहरुमा थुप्रै मानिसहरुको ज्यान गएको बताइएको छ।

राजधानी कायरोमा सत्ताच्युत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले उग्र जुलुसहरु निकालेका थिए।

पछिल्लो हिंसामा देशभरि कम्तीमा साठी जनाको ज्यान गएको बताइएको छ।

कैयौं मानिसहरुले कर्फ्यु आदेशको अवज्ञा गरिरहेकाले हताहतिको संख्या अरु बढ्न सक्ने आशंका गरिएको छ।

कायरोकी एकजना प्रदर्शनकारी महिला महा गिम्सीले भनिन्, "जेसुकै होस्, मर्नु परे पनि म यो सडक छाडेर जांदिनँ। आफ्नो मुलुकलाई स्वतन्त्र बनाउन म मर्न चाहन्छु। हेलिकोप्टर, लाठी केहीबाट पनि म डराउंदिनँ।"

हमला

प्रदर्शनकारीहरुले नजीकै रहेको एउटा प्रहरी चौकीमाथि हमला गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।

राजधानी कायरो बाहिर एकजना प्रहरी मारिएका थिए।

कम्तीमा ६३८ जनाको ज्यान गरी बुधबार भएका हिंसापछि फेरि विरोध प्रदर्शनहरु शुरु भएका छन्।

कायरो बाहिर पनि प्रदर्शनहरु भएका छन्।

इस्माइलिया शहरमा भएका भीडन्तमा कैयौं मानिसहरुको ज्यान गएको बताइएको छ।

तान्ता तथा अलेक्जेन्ड्रिया शहरहरुमा पनि प्रदर्शनकारी तथा सुरक्षादलहरुबीच भीडन्त भएका थिए।

संकटकालिन स्थिति जारी रहँदा तनाव कायमै छ।

आह्वान

मुस्लिम ब्रदरहुडले शुक्रबारको प्रार्थना पछि आक्रोश जुलुसहरु निकाल्न आह्वान गरेको थियो।

राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सडकमा बख्तरबन्द गाडीहरु तैनाथ गरिएका छन्।

सन् २०११ मा तत्कालिन राष्ट्रपति होस्नी मोबारक विरुद्ध गरिएका प्रदर्शनहरुको केन्द्रमा रहेको तहरीर स्क्वायरतर्फ जाने सबै बाटो सेनाले बन्द गरिदिएको बताइएको छ।

सरकार नियन्त्रित टेलिभिजनले महत्वपूर्ण भवनहरुको रक्षा गर्न सैनिकहरु तैनाथ गरिएको जनाएको छ।

राष्ट्रपति मोर्सीका विरोधी समूहहरुले पनि छुट्टै -याली निकाल्न आह्वान गरेका बताइएको छ।

आफ्ना छरछिमेक तथा गिर्जाघरहरुको सुरक्षा गर्न पनि आह्वान गरिएको छ।

इजिप्टका कोप्टिक इसाईहरुले गएको जुलाई महिनामा मोर्सीलाई हटाउने कदमको समर्थन गरेको आरोपमा केही इस्लामवादीहरुले गिर्जाघरहरुलाई निशाना बनाएका थिए।

एउटा गैरसरकारी संस्थाले गएको दुई दिनमा पच्चीसभन्दा बढी गिर्जाघर तथा निजी व्यवसायहरुमाथि हमला गरिएको जनाएको छ।

साइनाई प्रायद्वीपमा भएको पछिल्लो हिंसामा कम्तीमा सात जना सैनिक तथा एक प्रहरी मारिएका जनाइएको छ।

यसैबीच राष्ट्रसंघीय सुरक्षा परिषदले इजीप्टमा सबै पक्षलाई संयमित रहन भनेको छ।