इजिप्टमा तनाव बढ्दो, मुस्लीम ब्रदरहुड भंग गर्न प्रस्ताव

  • 17 अगस्ट 2013
Image caption इजिप्टका सुरक्षाकर्मीले अल फतेह मस्जिदमा अश्रु ग्याँस प्रहार गरेका बताइएको छ

इजिप्टका सरकारी अधिकारीहरूले शुक्रबार देशका विभिन्न ठाउँमा भएका हिंसामा १७३ जना मारिएका बताएका छन्।

अन्तरिम प्रधानमन्त्रीले विरोध प्रदर्शन चर्काइरहेको मुस्लीम ब्रदरहुडलाई कानूनी रूपमा भंग गर्न प्रस्ताव राखेका उनका प्रवक्ताले जनाएका छन्।

राजधानी कायरोस्थित एक मस्जिदमा सुरक्षाकर्मी तथा मुस्लीम ब्रदरहुडबीच तनावको स्थिति जारी छ।

त्यहाँ गोली चलेको सुनिनुको साथै सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रहार गरेका छन्।

सो मस्जिदभित्र १०० भन्दा बढी मानिस र कम्तिमा दुईवटा शव रहेका छन् र तीनलाई सुरक्षाकर्मीहरूले घेरेर राखेका छन्।

आदेश

शुक्रवार राती सैनिकहरू सो मस्जिदभित्र पसेर मानिसहरूलाई बाहिर निस्कन आदेश दिएका थिए।

त्यहाँबाट निस्कनेहरूलाई गिरफ्तार गरिएको थियो।

मस्जिदबाट निस्केकाहरूलाई स्थानीय बासिन्दाहरूले लछारपछार गरेका थिए।

अन्य मानिस मस्जिदबाट ननिस्किउन् भनी त्यसो गरिएको बताइएको छ।

शुक्रबारका झडपहरूमा मारिनेहरूमा मुस्लीम ब्रदरहुडका एक चर्चीत नेताका छोरा पनि थिए।

बुधवार कम्तीमा ६३८ जनाको ज्यान जाने गरी भएको हिंसापछि फेरि विरोध प्रदर्शनहरु चर्किंदै गएका हुन्।

मुस्लीम ब्रदरहुडले शनिवार शुरू हुने गरी साताव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ।

सो समुहले सेनाद्वारा बर्खास्त गरिएका इजिप्टका पहिला प्रजातानत्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई सो पदमा पुनर्स्थापना गरिनु पर्ने माग राखेको छ।