आशंकाका माझ दलहरुद्वारा चुनावी तयारी तीव्र

  • 19 अगस्ट 2013
आयोगमा गरिएको छलफल
Image caption चुनावको पक्षमा राजनीतिक माहौल बनाउन निर्वाचन आयोगले दलहरुलाई आग्रह गरेको छ

आगामी मंसिरका लागि तय संविधानसभा निर्वाचनबारे अझै शंका, उपशंका व्यक्त भइरहे पनि मुख्य राजनीतिक शक्तिहरुले उक्त निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेदवारहरुको खोजी गर्ने आन्तरिक प्रक्रियालाई तीव्रता दिएका छन्।

तीमध्ये कतिपयले त उम्मेदवारहरु छनौटका लागि नयाँ मापदण्ड तोक्ने तयारी समेत गरेका छन्।

सिफारिस

विघटित संविधान सभामा सबभन्दा ठूलो रहेको एकीकृत नेकपा माओवादीले सम्भावित उम्मेदवारहरुको नाम सिफारीस गर्ने प्रक्रियालाई उसले साउनको दोस्रो साताबाट शुरु गरेको एक महिने जनपरिचालनको एउटा हिस्सा नै बनाएको छ।

उक्त पार्टीको उम्मेदवार छनोट समितिका संयोजक पोष्टबहादुर बोगटी भन्छन्, “जनपरिचालन अभियानका लागि जो नेता जुन निर्वाचन क्षेत्रमा गएका छन्, त्यहाँबाट पाँच जना सम्भावित उम्मेदावारको प्रारम्भिक नाम छनोट गर्ने पनि भनिएको छ।”

अर्को मुख्य शक्ति नेपाली कांग्रेसले पनि जिल्लामा पार्टीको मूल्याङ्कन सहित तीन जना सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गर्नका लागि मातहतका निकायलाई जानकारी दिइसकेको छ।

उक्त पार्टीका प्रवक्ता दिलेन्द्र प्रसाद बडु भन्छन, “संस्थागत रुपमै पार्टीका स्रोतहरुबाट जानकारी लिन निर्देशन भइसकेको छ।”

मापदण्ड

विघटित संविधानसभाको तेस्रो ठूलो दल नेकपा एमालेले भने उम्मेदवार छनोट गर्दा नयाँ मापदण्ड अपनाउने तयारी गरेको छ।

उक्त पार्टीका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवाली भन्छन्, “पराजित भएका वा जितेकाहरुलाई कति चोटी सम्म मौका दिने भन्ने कुराको टुङ्गो गर्छौं।”

यदि यो मापदण्ड कडाईपर्वक लागू भए विगतमा पटक पटक पराजित शीर्ष नेताहरु समेत यस पटक उम्मेदवार हुन कठिन हुनेछ।

यसरी मुख्य दलले सम्भावित उम्मेदवारको खोजी गर्ने आन्तरिक प्रक्रियालाई तीव्र पारेपछि त्यसलाई चुनावी माहोल बन्दै गएको रुपमा कतिपयले अर्थ्याएका छन्।