इजिप्टको साइनाइमा उग्रवादी हमला

  • 19 अगस्ट 2013
एम्बुलेन्स
Image caption उग्रवादीहरुले सुरक्षाकर्मीहरुमाथि आकस्मिक हमला गरेका थिए

इजिप्टका सुरक्षा अधिकारीहरुले साइनाइ प्रायद्वीपमा गरिएको एउटा हमलामा कम्तीमा चौबिस जना प्रहरीहरुको ज्यान गएको जनाएका छन्।

सन्दिग्ध इस्लामवादी उग्रवादीहरुले रफाह नगर बाहिर दुई वटा बसमा यात्रा गरिरहेका सुरक्षाकर्मीहरुमाथि आकस्मिक हमला गरेका थिए।

गएको ६ सातामा सत्तरीभन्दा बढी सुरक्षाकर्मी तथा त्यतिकै संख्यामा उग्रवादीहरु मारिएका बताइएको छ।

तर अन्तरिम सरकारले मु्स्लिम ब्रदरहुडमाथि मोर्सीलाई हटाइए यता देशमा आतङक फैलाउन खोजेको आरोप लगाएको छ।

चिकित्सा सूत्र तथा अधिकारीहरुले गाजासंगको सीमा नजीकै सशस्त्र मानिसहरुले प्रहरीहरु यात्रा गरिरहेका दुईवटा बसहरुमा हमला गरेको जनाए।

विष्फोटनमा परी तीनजना प्रहरीहरु पनि घाइते भएका बताइएको छ।

कारवाही

सन् २०११ मा तत्कालिन राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गरिएयता साइनाइमा उग्रवादी हमलाहरु बढेर गएका छन्।

त्यहां सेनाले पनि आफ्नो कारवाही तीव्र पारेको छ।

इजरायल र इजिप्टबीच सन् १९७९ मा सम्पन्न शान्ति संझौता अन्तर्गत इजिप्टले त्यहां सुरक्षा दलहरु तैनाथ गर्दै आएको छ।

ती हमलाका बारे फरक फरक विवरणहरु प्राप्त भएका छन्।

सुरक्षा स्रोतहरुलाई उद्दृत गर्दै एसोसियटेड प्रेस समाचार संस्थाले चारजना सशस्त्र मानिसहरुले ती बसहरुलाई रोकी प्रहरीहरुलाई बाहिर निकालेर गोली हानी हत्या गरेका जनाएको छ।

संकटकाल

गत ३ जुलाईमा राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरिएयता हिंसा चर्किएपछि इजिप्टको अन्तरिम सरकारले देशभरि संकटकालिन स्थितिको घोषणा गरेको छ।

राजधानी कायरो तथा विभिन्न शहरहरुमा रात्रीकालिन कर्फ्यु लगाइएको छ।

सेनाले बल प्रयोग गरी मुस्लिम ब्रदरहुडले धर्ना दिन खडा गरेका शिविरहरु हटाएपछि गत बुधबार यता आठसय तीसजना भन्दा बढीको ज्यान गैसकेको बताइएको छ।

मारिनेहरुमध्ये सत्तरी जना प्रहरी तथा सैनिकहरु छन्।

एकछुट्टै घटनामा आइतबार राती कायरो बाहिर रहेको एउटा जेलबाट बाहिर लगिन लागेका छत्तीसजना इस्लामवादी बन्दीहरुको ज्यान गएको छ। सरकारी तथा सैनिक अधिकारीहरुले जेलभित्र दंगा फैलिएपछि प्रहरीले प्रहार गरेको अश्रुग्यांसबाट निसासिएर उनीहरुको ज्यान गएको बताएका छन्।

केही विवरणहरुमा गोली चलेको पनि बताइएको छ।

मुस्लिम ब्रदरहुडले त्यो नृशंस हत्याको एउटा घटना भएको जनाएको छ।

प्रतिकृया

युरोपमा जारी संकटप्रति युरोपेली संघको प्रतिकृया बारे छलफल गर्न सोमबार ब्रसेल्समा युरोपेली संघका राजदूतहरुको एक बैठक बसेको थियो।

युरोपेली संघका अध्यक्ष जोजे म्यानुएल बारोसो तथा युरोपेली परिषदका अध्यक्ष हर्मन भ्यान रम्पाइले भने, "युरोपेली संघले इजिप्टसंग उसको संबन्धका बारे तत्काल पुनरावलोकन गर्नेछ।"

मोर्सीका समर्थकहरुले उनलाई सत्ताबाट हटाउने काम एउटा कु वा सत्ता विद्रोह भएको बताएका छन्।

तर अन्तरिम सरकारले मु्स्लिम ब्रदरहुडमाथि मोर्सीलाई हटाइए यता देशमा आतङक फैलाउन खोजेको आरोप लगाएको छ।