इजीप्टलाई सहायता कटौतीबारे वाशिंगटनमा छलफल

  • 21 अगस्ट 2013
इजीप्टको सेना
Image caption संयुक्त राज्य अमेरिकाले इजीप्टको सत्तापलटलाई सैनिक कू भनेको छैन

संयुक्त राज्य अमेरिकामा ओबामा प्रशासनले इजीप्टलाई दिईंदै आएको एक दशमलव पांच अर्वको सहयोग कटौती गर्ने की नगर्ने भन्ने विषयमा विचार विमर्श गर्दैछ।

अमेरिकाले राजनीतिक वार्ता प्रकृयामा विपक्षी मुस्लीम ब्रदरहूडलाई सहभागी गराउन असफल भएमा इजीप्टलाई दिईंदै आएको सहायता प्रभावित हुन सक्ने चेतावनी दिएको छ। त्यस्तो सहायताको ठूलो भाग इजीप्टको सेनालाई जाने गर्दछ।

समीक्षा ह्वाइट हाउस का प्रवक्ता जोश अर्नेष्टले अमेरिकाले आफूहरुसंग भएका विकल्पहरुको समीक्षा गरिरहेको बताएका छन्।

वाशिंगटनले हालसम्म इजीप्ट गत महिना राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएको घटनालाई सैनिक विद्रोह अर्थात कु भन्ने गरेको छैन।

किनभने इजीप्टको सत्तापलटलाई कू भनिएमा अमेरिकी कानून अनुसार, उक्त महत्वपूर्ण साझेदार मुलुकलाई दिईंदै आएको सहायता कटौती गर्न ओबामा प्रसाशन बाध्य हुने छ।

वाशिंगटनले, इजीप्टमा हालै भएको हिंसालाई दृष्टिगत गरी त्यहांको सेनासंग गरिने सैनिक अभ्यास रद्द गरिसकेको छ र त्यहां दिईंदै आएको बार्षिक सैनिक सहयोग कटौती गर्न चर्को दबाब खेप्दै आएको छ।

योजना

उता, युरोपेली युनियनका विदेशमन्त्रीहरुले पनि आफ्नै भावी योजनाहरु बनाउन बुधबार बैठक गर्दैछन्।

Image caption इजीप्टमा भएको पछिल्लो हिंसामा नौसय जना भन्दा बढीको ज्यान गएको बताइएको छ

र उक्त बैठकमा इजीप्टमा हालै झण्डै नौ सय जना भन्दा बढीको ज्यान गएको हिंसा पछि उक्त देशलाई दिईंदै आएको केही सहयोग निलम्बन हुन सक्ने सम्भावना रहेको बताइएको छ।

युरोपेली युनियनले इजीप्टमा राजनीतिक समाधानका लागि विभिन्न समूहहरुसंग वार्ता गरिरहेकाले विदेशमन्त्रीहरुको बैठकले कडा उपायहरु भने नअपनाउने अनुमान गरिएको छ।

सम्भवत: विदेशमन्त्रीहरुले सैनिक तथा सुरक्षा सम्बन्धी सहयोगहरुमाथि विचार गर्न सक्ने समाचार सुत्रहरुले जनाएका छन्।

इजीप्टमा, सेना समर्थीत अन्तरिम सरकारले, राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गर्ने कार्यको विरोध गरिरहेका इस्लामवादीहरु विरुद्ध, कार्वाही गरेपछि त्यहां अझै पनि संकटकाल लागु छ।

यसअघि, इजीप्टका प्रधानमन्त्री हाजेम अल बेब्लावीले गत हप्ता मुस्लीम ब्रदरहुडका दशौं हजार समर्थकहरुलाई सडकहरुबाट हटाउन सेनाले गरेको हिंसात्मक कार्वाहीको समर्थन गरेका थिए।