गोलमेच गर्न दलहरु सहमत

  • 22 अगस्ट 2013
वार्ताको चटारो
Image caption गोलमेच सम्मेलनको आकार र मुद्दाबारे थप गृहकार्य पछि निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन्

प्रमुख राजनीतिक दलहरु विपक्षीहरुको माग बमोजिम गोलमेच सम्मेलन गर्न सैद्धान्तिक रुपमा सहमत बनेका छन्।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले संविधानसभा विघटन भए लगत्तैदेखि विकसित राजनीतिक गतिरोधको अन्त्य गोलमेच सम्मेलन मार्फत गर्नुपर्ने माग राख्दै आएको छ।

उक्त माग अन्तत: बिहीबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले औपचारिक रुपमा स्वीकार गरेका थिए।

गोलमेचको स्वरुप र त्यसबाट प्राप्त गर्न खोजिएको लक्ष्यप्रति भने दुवै पक्षका आ आफ्ना धारणा छन्।

गत वर्ष जेठमा संविधानसभा विघटन हुँदा एकीकृत माओवादी फुटेको थिएन।

स्वरुप र लक्ष्य

त्यसबेला सरकार प्रमुख रहेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेको चुनावको चर्को विरोध गर्दै त्यसबेलाका अर्का माओवादी उपाध्यक्ष मोहन बैद्यले उत्पन्न गतिरोधको निकास गोलमेच सभा मार्फत खोजिनुपर्छ भनेका थिए।

बिहीबारको उच्चस्तरीय राजनीतिक समितिमा त्यसबारे सहमति बनेपछि त्यसको स्वरुप र लक्ष्यबारे नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, "त्यो कसरी बन्ने, अधिकार क्षेत्र कस्तो हुने, चार दलीय संयन्त्र के हुने, सरकार के हुने भन्ने विषयमा छलफल हुन बाँकी छ।"

त्यसमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु साथै आन्दोलनरत दलहरु राख्न सकिने भन्ने छलफल भएको तर निर्णय नभएको नेता गजुरेलले बताए।

गोलमेच सम्मेलनको उक्त मागबारे एकवर्षजति खासै वास्ता नगरेका प्रमुख दलका शीर्ष नेताहरुले अन्तत: सर्वपक्षीय भेला गर्न औपचारिक रुपमा सहमति जनाएका हुन्।

गृहकार्य

त्यसको स्वरुप र विषयबस्तुबारे गृहकार्यपछि प्रष्ट हुने उच्चस्तरीय समितिको बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नर्सिंह केसीले बताए।

बैद्य नेतृत्वको माओवादीले गोलमेच मार्फत ११ बुँदे र २५ बुँदेको खारेजी, नयाँ सरकार गठन, संविधानको अन्तरवस्तुमा सहमति देखि संविधानका आधारभूत सिद्धान्तमा सहमति खोज्ने बताउँदै आएको छ।

तर सरकार समर्थक प्रमुख दलहरुले भने सरकार परिवर्तन र निर्वाचनको मितिलाई अपरिवर्तनीय भन्दै अरु विषयमा सहमति खोज्न सकिने बताएका छन्।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, अबका वार्ताहरुमा दुवै पक्षले आ आफ्ना अडानका बीचको बाटो रोज्न राजी हुने नहुनेमा गोलमेचको परिणाम निर्भर रहने देखिन्छ।