बहिष्कारको प्रचारात्मक अभियान थालिने: वैद्य माओवादी

  • 25 अगस्ट 2013
सरकार समर्थक दलका नेताहरु
सरकार समर्थक दलका नेताहरु वैद्य माओवादी चुनावमा आउन नचाहेको बताउँछन्

गोलमेच सम्मेलनमा छलफल गरिनुपर्ने भनी, आफुहरुले राखेको विषयहरुको प्रस्ताव सरकार समर्थक दलहरुको उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरिदिएपछि, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचनको सक्रिय बहिष्कारका निम्ति तत्काल प्रचारात्मक कार्यक्रम थाल्ने चेतावनी दिएको छ।

आफ्ना कार्यक्रम शसस्त्र नहुने भएपनि, अर्को पक्षले बल प्रयोग गर्ने सम्भावना बढेको भन्दै निर्वाचनताका झडप हुने उक्त दलका उपाध्यक्ष सीपी गजुरेलले चेतावनी दिएका छन्।

आ-आफ्ना योजना

नयाँ संविधानको अन्तर्वस्तु तथा सरकार गठनसमेतलाई छलफलको विषय बनाइनुपर्ने सहित पाँच बुँदे माग प्रस्तुत गरेपछि वैद्य नेतृत्वको माओवादी सम्मिलित असन्तुष्ट मोर्चासंग उच्चस्तरीय राजनीतिक समितिले वार्ता अघि बढाउन चाहेन।

अब त्यसका कारण उत्पन्न परिस्थितिसंग जुध्न दुवै पक्ष आ आफ्नै ढंगका योजनाका साथ अघि बढ्ने मनस्थितिमा छन्।

वैद्य माओवादी चुनावको सक्रिय बहिष्कारको उसको यसअघिनै घोषित नीति कार्यान्वयन गर्न अन्य असन्तुष्ट दलहरुसंग छलफल गर्ने योजनामा छ।

तत्कालका निम्ति निशस्त्र ढंगले बहिष्कारको प्रचारमा उत्रने उक्त दलका उपाध्यक्ष सी पी गजुरेलले बताए।

“हरेक निर्वाचन बुथमा हामी प्रचारात्मक टोली खटाउँछौं र त्यहाँका जनतालाई सक्रिय बहिष्कारका निम्ति तयार पार्छौं। अर्को पक्ष उत्तेजित भएर आउने देखिन्छ, त्यसैले अब निर्वाचन होइन झडप हुन्छ,” गजुरेलले भने।

भूमरी

उच्चस्तरीय राजनीतिक समितिमा सामेल दलहरु भने अब बाँकी असन्तुष्ट पक्षहरुलाई मिलाएर चुनावमा केन्द्रित हुने रणनीतिमा छन्।

दुई पक्षको विपरीत धारणाका कारण मंसिर ४ मा हुने तय भएको संविधानसभाको दोस्रो निर्वाचनमा सुरक्षा चुनौति थपिने डर बढेको छ।

त्यसमाथि वैद्य माओवादी लगायतका असन्तुष्ट दलहरुले भाग नलिए, नयाँ संविधान बनाउने प्रक्रिया समेत निरन्तरको राजनीतिक विवादको भूमरीमा पर्न सक्ने कतिपय विश्लेषकहरु बताउँछन्।