राईको दल गोलमेचको पक्षमा अडिग

  • 25 अगस्ट 2013
संविधानसभा कक्ष
Image caption अघिल्लो संविधानसभा विफल भएपछि अर्को चुनाव हुनेप्रतिको आशंका हटिसेकेको छैन

उच्चस्तरीय राजनीतिक समिति र सरकारसँग वार्तारत संघीय समाजवादी पार्टीले गोलमेच वा सर्वपक्षीय सम्मेलन हुनु पर्ने अडान नत्याग्ने बताएको छ।

उक्त दलको नेतृत्व नेकपा-एमाले छाडेका अशोक राईले गरेका छन्।

मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी तथा उसको मोर्चा र उच्चस्तरीय समितिबीच भएको गोलमेच सम्मेलन गर्ने समिति संकटमा परे पनि त्यो मागमा अडिग रहेको राईले बताए।

उनले भने, "वैद्यजी आए पनि नआए पनि हामी त गोलमेच सम्मेलनमा हुने सहमति अनुसार नै अघि बढ्नुपर्छ भन्ने पक्षमै छौं।"

उनले सरकारले गोलमेचको तयारी गरिरहेको दावी पनि गरे।

विश्वस्त

वैद्यहरुसँगको शनिवारको वार्ता विफल भएकै साँझ उच्च समितिले राईको दलसँग गरेको वार्ता पनि निष्कर्षहीन भएको थियो।

तै पनि सरकार समर्थक पार्टीहरु संघीय समाजवादी पार्टी चुनावमा सहभागी हुने गरी सहमति हुनेमा विश्वस्त देखिन्छन्।

उक्त पार्टीसँगको वार्तामा सहभागी रहँदै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले भने, "चुनाव, शान्तिपूर्ण राजनीति र लोकतान्त्रिक प्रकृयाबाट निकास खोज्नेमा विश्वास राख्ने संघीय समाजवादीले गोलमेचको मागमा अल्झाउँछ जस्तो मलाई लाग्दैन।"

जोड

संघीय समाजवादी पार्टीले गोलमेच सम्मेलनका साथै उच्चस्तरीय राजनीतिक समिति विघटन, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार जस्ता माग राखेको छ।

तर नेता देवका बुझाइमा संविधानसभा सदस्यको संख्या ६०१ राखिनु पर्नेमा उक्त दलको मुख्य जोड छ।

उनले भने, "खासगरी उहाँहरुले संविधानसभामा मनोनित हुने २६ जनाको संख्या किन घटाउनु भयो, त्यो पहिलेकै जति नै हुनुपर्छ भनि रहनु भएको छ।"

उच्च समितिले उपेन्द्र यादवको नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र उसको मोर्चासँग गरेको सहमतिमा संविधानसभा सदस्यको संख्या मनोनित सदस्य घटाएर ५८५ हुन उल्लेख छ।

घटाइएको १६ सदस्य फेरि थप्ने वा नथप्नेमा उच्च समितिका दलहरुबीचमै मतभेद देखिन्छ।