इरानद्वारा अमेरिकालाई चेतावनी

  • 25 अगस्ट 2013
ओबामा
Image caption राष्ट्रपति ओबामामाथि सिरिया सरकार विरुद्ध कडा कदम चाल्न दबाब बढिरहेको छ

एकजना वरिष्ठ इरानी सैन्य अधिकारीले, उनकै शब्दमा, सिरियामा 'लक्ष्मण रेखा' नाघेमा संयुक्त राज्य अमेरिकाले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले यदि सिरियाले आफ्नै जनता विरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको पुष्टि भएमा त्यसको गम्भीर प्रतिकृया हुने जनाएपछि इरानको सशस्त्र सेनाका उपप्रमुख मसूद जाजायरीको सो भनाइ आएको हो।

गत साता दमस्कस नजीकै गुतामा विपक्षीहरुले सैयौं जनाको ज्यान गएको बताएका सो हमलाका लागि आफु जिम्मेवार नरहेको सिरिया सरकारले जनाएको छ।

राष्ट्रपति ओबामा तथा ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले शनिबार फोनमा झण्डै चालिस मिनट कुरा गरेका थिए।

गम्भीर चिन्ता

ब्रिटिश प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा दुबै नेताहरुले सिरियाली सत्ताद्वारा ठूलो मात्रामा रासायनिक अस्त्रहरु प्रयोग गरिएको बढ्दो संकेत देखिएको प्रति गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।

बालबालिका तथा महिला सहित सैयौं सर्वसाधारण मारिएका भिडियो चित्रहरु सार्वजनिक भएपछि संभाव्य सैनिक कारवाहीकालागि युरोपेली तथा अमेरिकी नेतृत्तमाथि दबाब बढ्दै गएको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको सहमति विना नै अमेरिकी नेतृत्वमा सिरियाली ठेगानाहरुमा हवाइ हमला गर्न सकिने अनुमान गरिंदै रहंदा इरानी सेनाका एकजना वरिष्ठ अधिकारीले त्यस्तो चेतावनी दिएका हुन्।

उता सुरक्षा परिषदको एउटा सदस्य रुसले सिरियाका विपक्षीहरुमाथि नै सो रासायनिक हमलाकालागि जिम्मेवार रहेको आरोप लगाएको छ।

शनिबार सिरियाको सरकारी टेलिभिजनले दमस्कसभन्दा पूर्वमा रहेको एउटा सुरुङमा विद्रोहीहरुले प्रयोग गरेको रसायन फेला परेको जनाएको थियो।

तर विपक्षीहरुले ती भनाइको खण्डन गरेका छन्।

उनीहरुले गत बुधबार विहान राष्ट्रपति बसर अल असद समर्थित सैन्यले राजधानी दमास्कसको पूर्व तथा पश्चिमी भेगमा पांचसयदेखि एकहजारजना सम्म सर्वसाधारणको ज्यान लिएको आरोप लगाएका छन्।

संयुक्त राष्ट्र संघले गुतामा गरिएको हमलामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने भनाइहरुको जांच गर्न आफ्नो विशेषज्ञ टोलीलाई अनुमति दिन सिरिया सरकारलाई आग्रह गरेको छ।

संयु्क्त राष्ट्र संघकी निशस्त्रीकरण प्रमुख एंगेला केन यसबारे सिरिया सरकारसंग कुराकानी गर्न दमास्कस पुगेकी छिन्।

छानबीन

ब्रिटिश सरकारले भनेको छ, राष्ट्रसंघीय टोलीलाई सो घटनाको छानबीन गर्न नदिइएबाट सिरिया सरकार केही लुकाउन चाहिरहेको देखिन्छ।

अमेरिकी रक्षा मन्त्री चक ह्यागेलले भनेका छन् अमेरिकी सेना कुनै पनि किसिमको कारवाहीका लागि तयार छ।

बीबीसीका राजनीतिक संवाददाता इयान वाटसन भन्छन्, ब्रिटेन तथा अमेरिकाले भनेको गम्भीर प्रतिकृया सिरियामा सेना पठाउने भन्ने होइन। तर त्यसमा संभाव्य हवाइ हमला पर्दछन्।

आइतबार बिहान पनि सिरियाली सैन्यले दमस्कस नजीकै रहेका विद्रोहीहरुका थुप्रै अखाडाहरुमा हमला गरेका थिए।

विपक्षी समर्थक एउटा सन्जालले शनिबार देशका विभिन्न ठाउंमा गरी एकसय चौधजनाको ज्यान गएको जनाएको छ।

संयुक्त राष्ट्र संघले दुई बर्षभन्दा केही अघि राष्ट्रपति असाद विरुद्ध विद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको जनाएको छ।