पूर्व माओवादी लडाकु अब सैनिक अधिकृत

  • 26 अगस्ट 2013
नयां सैनिक अधिकृतहरु
Image caption सरकारले अब समायोजन प्रकृया पुरा भएको जनाएको छ।

सत्तरी जना पूर्व माओवादी लडाकुहरुले नौ महिने तालिम पुरा गरेपछि एक समारोहका माझ उनीहरुलाई उपसेनानी (लेफ्टिनेन्ट) को दर्ज्यानी चिन्ह दिइएको थियो।

सोमबारदेखि समायोजन प्रकिया सकिएको अधिकारीहरुले बताएका छन्।

यसअघि अधिकृतभन्दा तल्लो दर्जाको तालिम पुरा गरेका साढे तेह्रसय पुर्वलडाकुहरु नेपाली सेनामा कार्यरत छन्।

नौ महिने आधारभूत तालिम पुरा गरेपछि सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनासँगै लडेका उनीहरुले भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठानमा दर्ज्यानी चिन्ह लिए लगत्तै पदको शपथ लिएका थिए।

उनीहरुले सरकार प्रमुख, आफ्नो पूर्व पार्टी एकीकृत माओवादीका अध्यक्ष लगायतका नेता, उच्चपदस्थ अधिकारी र आफन्तजनहरु सहभागी विशेष कार्यक्रममा कवाज प्रदर्शन गरेका थिए।

खुसियाली

पहिला राजनीतिक नेतृत्वको आदेशमा चल्ने पूर्व लडाकुहरुले शपथ पछि फूलमाला र टीका सहित बिहानै देखि कुरिरहेका परिवारका सदस्यसँग खुसियाली साटेका थिए।

प्रधानसेनापति गौरव शमसेर राणाले सफलता प्राप्त गर्ने अधिकृत र उनका आफन्तहरुलाई बधाइ दिएका थिए।

शान्तिप्रक्रिया शुरु हुँदा झन्डै १९ हजार पूर्व लडाकुहरु संयुक्त राष्ट्रसंघले दर्ता गरेकोमा बर्षौको खिचातानी पछि प्रकिया अघि बढ्दा निक्कै कम पूर्व लडाकुले समायोजनमा जाने इच्छा व्यक्त गरेका थिए।

माओवादीले राखेको लडाकुहरुको सामूहिक समायोजनको माग तत्कालिन सैनिक नेतृत्व र अन्य दलले अस्वीकार गरेपछि केही छुटसहित नियमित भर्नासँग मिल्दो समायोजनको स्वरुपमा राजनीतिक सहमति भएको थियो।

समायोजनबारे प्रचन्ड नेतृत्वको तत्कालिन सरकारको योजनाको विपक्षमा अडान लिएका पूर्व सेनापति रुक्माङ्गत कटवालले पछिल्लो समायोजनको ढाँचा प्रति सन्तुष्टि जनाए।

"पहिला जुन हिसाबबाट हुलका हुल ल्याएर जर्नेल कर्णेल बनाउने कुरा थियो त्यो त भएन नि। त्यही भएर समायोजन प्रकियाबारे कसैको पनि विमति हुनु हुँदैन," कटवालले भने।

आफ्ना पूर्व सहयोद्धाहरुको समायोजनले पूर्णता पाएको भन्दै एकीकृत माओवादीले पनि प्रसन्नता व्यक्त गरेको छ।

"शान्तिप्रकियाको प्रमुख अंग सेना समायोजनले सफल र अन्तिम रुप लिएको छ भन्ने हाम्रो निष्कर्ष रहेको छ।"

समायोजन

समायोजनलाई आत्मसमर्पण भन्दै आएको नेकपा माओवादीका एकजना उपाध्यक्ष सिपि गजुरेल पनि आधारभूत तालिमको समापन कार्यक्रममा उपस्थित थिए।

गजुरेलले छुट्टै पहिचान सहित पूर्व लडाकुहरुको समायोजन नगरिएकोमा आफ्नो दलको विमति भएपनि मुलुकमा विदेशी हस्तक्षेप बढेकाले नेपाली सेनासँग उनको दलको कुनै विरोध नरहेको उल्लेख गरे।

समायोजित लडाकुहरुलाई नेपाली सेनामा आफ्नो भविष्य बनाउने बाटो खुलेको छ।

तर स्वेच्छिक अवकाश लिएका र अयोग्य घोषित भइ बाहिरिएका हजारौं पूर्व लडाकुहरुको सही व्यवस्थापन नभए समाजमा दीर्घकालसम्म असर पर्ने कैयौंको चिन्ता पाइन्छ।