राष्ट्रसंघीय निरीक्षकहरु घटनास्थलमा

  • 26 अगस्ट 2013
सिरिया
Image caption सिरियामा रासायनिक हमला गरिएको भन्दै पश्चिमा देशहरुले निन्दा गरेका छन्

सिरियाले राजधानी दमस्कस बाहिर रासायनिक हमला भएको भनिएको क्षेत्रमा छानबीनको अनुमति दिएपछि राष्ट्रसंघीय अस्त्र परिक्षण टोली घटनास्थल पुगेको छ।

इन्टरनेटमा प्रकाशित भिडियोहरुमा उक्त टोलीका सदस्यहरुले स्थानीय मानिसहरुसंग कुराकानी गरिरहेको तथा प्रमाण संकलन गरिरहेको देखाइएको छ।

सिरियाली सरकार तथा विद्रोहीहरुले अस्त्र निरीक्षकहरुलाई प्रमाण संकलनकालागि घटनास्थल जान दिन सहमति जनाएका थिए।

तर सो टोली होटलबाट निस्किएको एकै छिनमा अज्ञात निशानेवाजहरुले हमला गरेका थिए।

त्यसपछि टोली घटनास्थलसम्म पुग्न सक्ला कि नसक्ला भनि आशंका उब्जिएको थियो।

परीक्षण

निरीक्षक टोलीले घटनास्थलबाट प्रयोगशालामा परीक्षणकालागि माटो, रगत र अन्य पदार्थहरु संकलन गर्ने बताइएको छ।

विशेषज्ञहरुले भनेका छन्, उनीहरुले सैयौंको ज्यान जाने गरी गत बुधबार गरिएका हमलाको छानबीन जारी राख्‍नेछन्।

ठूलो अन्तर्राष्ट्रिय दबाब पछि राष्ट्रपति बसर अल असदले राष्ट्रसंघीय टोलीलाई घटनास्थलको निरीक्षण गर्न दिन अनुमति दिएका थिए, तर संयुक्त राज्य अमेरिका तथा ब्रिटेनले भनेका छन्, घटना भएको पांच दिन बितीसकेकाले धेरै जसो प्रमाण नष्ट भैसकेको हुनसक्छ।

अमेरिकाले भनेको छ, पूर्वी दमस्कसमा विद्रोहीहरुको नियन्त्रण रहेको इलाकामा झण्डै तीनसय जनाको ज्यान जानेगरी गरिएको रासायनिक हमला सिरियाका सरकारी सैन्यले गरेको भन्ने कुरामा कमैमात्र शंका छ।

तर राष्ट्रपति असदले त्यस्तो आरोपलाई ‘सामान्य ज्ञान माथिको अपमान’ भन्दै अस्वीकार गरीदिएका छन्।

उनले आफ्नो मुलुकमा सैन्य हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी पनि दिए।

रुसी समाचारपत्र इज्भेस्तियासंग कुरा गर्दै उनले भने, “यदि कसैले सिरियालाई पश्चिमा मुलुकहरुको कठपुतली बनाउने सपना देखेकाछन् भने त्यो हुनेवाला छैन।”

चेतावनी

एक बर्षअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले यदि सिरियाली द्वन्द्वमा रासायनिक अस्त्र प्रयोग गरिएमा अमेरिकाले सैन्य प्रतिकृया जनाउनसक्ने चेतावनी दिएका थिए।

वाशिङटनले हालै भूमध्य सागरमा आफ्नो नौसैनिक उपस्थिति सुदृढ पारेको छ। अमेरिका, बेलायत तथा उनीहरुका सहयोगी मुलुकहरुका वरिष्ठ सैनिक अधिकारीहरु संभाव्य सैन्य कारवाहीबारे छलफल गर्न जोर्डनमा भेला भएका छन्।

तर सिरिया सरकार विरुद्ध सैन्य कारवाही गर्ने विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद विभाजित छ।

चीन र रुस असद सरकार विरुद्ध थप नाकावन्दी लगाउने वा सैन्य कारवाही गर्ने प्रस्तावको विपक्षमा देखिन्छन्।

मस्कोले राष्टूसंघीय निरीक्षकहरुको प्रतिवेदन आउनुअघि कुनै निष्कर्षमा नपुग्न चेतावनी दिएको छ।

चीनले पनि रासायनिक अस्त्रको विषयमा बढी संवेदनशील बन्न आग्रह गरेको छ।

टर्कीका विदेशमन्त्री अहमत दाभुतोग्लुले भने, तीसभन्दा बढी मुलुकहरु राष्ट्रसंघ सहमत नभएमा पनि सिरिया विरुद्ध कसरी कारवाही थाल्ने भन्नेबारे छलफल गरिरहेका छन्।

सिरियासंग ठूलो मात्रामा मस्टार्ड ग्यास तथा सरिन नर्भ एजेन्ट भनिने रासायनिक अस्त्रहरु रहेको विश्वास गरिन्छ।

रासायनिक अस्त्रहरुमाथि प्रतिबन्ध लगाउन सन् १९९७ मा गरिएको महासन्ध‌ि अनुमोदन नगर्ने सातवटा मुलुकहरुमध्ये सिरिया पनि एक हो।