अनुसन्धानमा समय लाग्न सक्छ: प्रहरी

  • 27 अगस्ट 2013
राष्ट्रिय मानवअधिकार आयोग
Image caption राष्ट्रिय मानवअधिकार आयोगले अधिकारी दम्पतिको जिवन रक्षाको पहल गर्न सरकारलाई भनेको छ

नौ वर्षअघि छोराको हत्यामा संलग्न कारवाही गर्न माग गर्दै आमरण अनसनमा बसेका वृद्ध दम्पति्को स्वास्थ्यस्थिति नाजुक बन्दै जाँदा उक्त मुद्दाको अनुसन्धानमा समय लाग्ने प्रहरीले बताएको छ।

नन्दप्रसाद र गंगामाया अधिकारीको अवस्था गम्भीर भएको भन्दै मंगलवार राष्ट्रिय मानवअधिकार आयोगले उनीहरुको जीवन रक्षाको निम्ति सरकारलाई आग्रह गरेको छ।

बीर अस्पतालको शैयामै अनसन बसेका उनीहरुको स्थितिबारे जानकारी लिएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।

छानवीन

हत्या भएको जिल्ला चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले विगतमा यो मुद्दामाथि अनुसन्धान नभएकाले घटनास्थल गएर प्रहरीले सत्यतथ्य बुझिरहेको बताए।

“पहिला मिसिल बन्द गरिएको मुद्दा भएकाले केही पनि अनुसन्धान नै भएको थिएन। घटनास्थलमा सत्यतथ्य बुझेर अहिले केही मान्छेको ठाडो कागज गराउने र रेखाचित्र बनाउने गरिरहेका छौं।”

सरकार, अधिकारकर्मी र आयोगले अनसन तोड्न आग्रह गरेपनि उनीहरूले हत्याका अभियुक्त पक्राउ नपर्दासम्म अनसन नतोड्ने अडानमा छन्।

चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्की प्रमाण पुष्टी गर्नुपर्ने हुनाले अनुसन्धानमा समय लाग्ने बताउँछन्।

“अनसनको स्थिति हेरेर अनुसन्धान चाँडो गर्न सकिदैँन, सबुत प्रमाणहरु संकलन गर्नुपर्ने भएकाले अनुसन्धानले कहिलेकाँही समय लिन्छ।”

अधिकारी दम्पतिले छोराको हत्यारालाई कारवाही नगरीएसम्म अनसन नतोड्ने अडान् लिएका छन्।

आग्रह

आयोगले एक विज्ञप्ती मार्फत नन्दप्रसाद र आमा गंगामाया अधिकारी दम्पतीको जीवन रक्षाको निम्ति आफूले गरेको पहललाई सघाउन आग्रह गर्दै आरोपित व्यक्तिहरुमाथि अनुसन्धान हुनेबारे मृतक परिवारलाई आश्वस्त तुल्याउन सरकारलाई आह्वान गरेको छ।

आयोगका अनुसार महिना दिनभन्दा बढी समयदेखि अधिकारी दम्पती अनसनमा छन् र उनीहरुको स्वास्थ्यस्थिति उसकै शब्दमा नाजुक बन्दै छ।

राष्ट्रपतिले समेत उनीहरुको स्वास्थ्यबारे चासो देखाउँदै उक्त प्रकरण सुल्झाउन सरकारको ध्यानाकर्षण गराएको बुझिएको छ।