‘भक्तपुरमा फार्ममा पालिएका सबै कुखुरा नष्ट’

  • 27 अगस्ट 2013
बर्डफ्लु
Image caption नेपालमा कुखुरा व्यवसाय अर्बैं रुपैयां बराबरको रहेको बताइएको छ

सरकारले सबैभन्दा बढी बर्डफ्लु संक्रमण देखिएको भक्तपुर जिल्लामा व्यावसायिक रुपमा पालिएका लगभग सबै कुखुरा नष्ट गरिएको जनाएको छ।

साउन अन्त्यमा बर्डफ्लु संकटग्रस्त जिल्ला घोषणा भएयता मात्रै झण्डै साढे सात लाख कुखुरा नष्ट गरिएको भक्तपुरस्थित पशु सेवा कार्यालयले जनाएको छ।

संकटग्रस्त क्षेत्र घोषणा गरेर पंक्षीहरु नष्ट गर्न थालिएपछि बर्डफ्लु संक्रमण कम भएको अधिकारीहरुको भनाइ छ।

ठूलो संख्या

साउनको पहिलो हप्ता बर्डफ्लु संक्रमण सुरु भएयता भक्तपुरमा करिब ९ लाख कुखुरा नष्ट गरिएको अधिकारीहरुले बताएका छन्।

व्यवसायिक रुपमा झण्डै ७ सय फार्ममा पालिएका कुखुरा नष्ट गरिसकिएको पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले बताए।

उनले भने, “व्यवसायिक रुपमा पालिएका कुखुरा नष्ट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब घरमा पालिएका पंक्षीहरु भदौ ११ गते पछि नष्ट गर्न थाल्छौं।”

राहत

घरमा पालिएका पंक्षी नष्ट गर्दा धनीलाई तत्काल राहत वापतको रकम दिइने भट्टले जानकारी दिए।

व्यवसायीका हकमा भने कुखुरा नष्ट गर्ने काम सकिएपछि क्षतिको मूल्यकंन गरेर राहतबारे निर्णय गरिने उनले बताए।

बर्डफ्लु संक्रमणले अर्बौं रुपैयां लागतको आफ्नो व्यवसाय तहसनहस बनाइदिएको भन्दै व्यवसायीहरुले क्षतिपूर्तिको रकम बढाउन सरकारसँग माग गरिरहेका छन्।

नियन्त्रण

पशु सेवा विभागका उपमहानिर्देशक रामकृष्ण खतिवडाले काठमाण्डौंमा संकटग्रस्त तोकिएका क्षेत्रहरुको व्यवसायिक फार्महरुमा कुखुरा नष्ट गर्ने क्रम अन्तिम चरणमा रहेको बताए।

पंक्षी नष्ट गर्न थालेपछि बर्डफ्लु संक्रमण नियन्त्रणमा आउने क्रममा रहेको उनको भनाइ छ।

उनले भने,“यसअघि दिनमा २० वटासम्म नमूना देशभरबाट आउंथे जसमा आधाजतिमा संक्रमण देखिन्थ्यो। आजभोलि एक वा दुईवटामा मात्रै संक्रमण भेटिने गरेको छ।”

पाठ

संक्रमित क्षेत्रका सबै पंक्षी नष्ट गरेपछि संकटग्रस्त क्षेत्रमा कुखुराको ओसारपोसार र मासुको विक्री वितरण खुल्ला गर्ने तयारी अधिकारीहरुको छ।

तर अहिले पंक्षी नष्ट गरिएका फार्महरुमा ३ महिनासम्म कुखुरा पाल्न नपाइने नियम रहेको उल्लेख गर्दै अधिकारीहरुले पछिल्लो घटनाबाट पाठ सिक्दै व्यवसायिक कुखुरा पालनलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताएका छन्।