ब्रिटेनद्वारा सिरिया सम्बन्धी मस्यौदा प्रस्ताव तयार

  • 28 अगस्ट 2013
Image caption क्यामरूनले सिरिया सम्बन्धी प्रस्ताव सुरक्षापरिषदमा पेश गरिने कुरा ट्वीटरमार्फत सार्वजनिक गरेका छन्

संयुक्त अधिराज्यले सिरियाका गैरसैनिकहरूको रक्षाकालागि आवश्यक कदमहरू चाल्न अनुमति दिने एक प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गर्दैछ।

सो प्रस्ताव सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरूको बैठकमा प्रस्तुत गरिने संयुक्त अधिराज्यका प्रधानमन्त्री डेभिड क्यामरूनले ट्वीटरमार्फत भनेका छन्।

यसअघि राष्ट्रसंघका हतियार निरिक्षकहरूको टोलीले अगस्ट २१ तारिखको दिन सिरियामा भएको भनिएको रासायनीक हमलाबारे छानबीन पुन: थालेको छ।

सो टोलीमाथि सोमबार अज्ञात बनदुकधारीहरूले गोली प्रहार गरेका थिए।

आह्वान

राष्ट्रसंघीय महासचिव बान कि मूनले परिषदलाई एक जूट भएर काम गर्न आह्वान गरेका छन्।

उनले भने, “जुन निकाय अन्तर्राष्ट्रिय ‌शान्ति र सुरक्षा कायम गर्न इच्छुक छ त्यो आफैं त्यस्तो उद्धेश्य बोकेको कामबाट अलग रहन सक्तैन।

“आवश्यक कदम चाल्न परिषदले अन्त्यमा एकता जुटाउनै पर्छ, शान्तिकालागि उसले आफ्नो अधिकार प्रयोग गर्नु पर्छ।“

रूस र चीनले विगतमा सिरिया सम्बन्धी महत्वपूर्ण प्रस्तावहरू अस्वीकार गरेका थिए।

उनीहरूले यस पटक पनि सिरिया विरूद्ध सैन्य कारवाहीको प्रस्तावलाई रोक्न सक्ने देखिएको छ।

चेतावनी

रूसी विदेशमन्त्री सरजेइ लाभ्रोभ ले चेतावनी दिंदै भनेका छन्, “सैन्य समाधान दिने कुनै पनि प्रयासले सिरिया र सो सम्पूर्ण क्षेत्रलाई ‌अस्थिर बनाइदिने छ।“

रूसी विदेश मन्त्रालयले जनाए अनुसार, लाभ्रोभले राष्ट्रसंघ र अरबलिगका दूत लख्दर ब्राहिमीलाई फोन गरी राजनीतिक समाधानमा जोड दिएका छन्।

विगतमा रुस, चीन र इरानले युद्धग्रस्त सिरियामाथि हुनसक्ने आक्रमण विरूद्ध चेतावनी दिएका थिए।

सो देशमा गत दुई वर्षदेखि चर्कँदै गएको लडाईंमा एक लाख भन्दा बढीको ज्यान गइसकेको छ।