'मोर्चाले चाहेको जस्तो गोलमेच असंभव'

  • 29 अगस्ट 2013
Image caption असन्तुष्ट दलहरुको मोर्चाले गोलमेचको सहजकर्ता बनिदिन राष्ट्रपतिसँग आग्रह गरेका छन्

प्रमुख दलहरुले असन्तुष्ट समुहले चाहेको जस्तो संवैधानिक अधिकारप्राप्त गोलमेचसभा संभव नरहेको तर सर्वपक्षीय राजनीतिक भेलाका रुपमा गोलमेच गर्न आफूहरु तयार रहेको बताएका छन्।

एक साताअघि गोलमेच सहित पाँचबुँदे आफ्नो प्रस्तावमाथि प्रमुख दलहरुलाई राजी गराउन विफल असन्तुष्ट मोर्चाले राष्ट्रपति रामबरण यादवलाई गोलमेचको सहजीकरण गरिदिन बिहीबार औपचारिक रुपमा अनुरोध गरेको छ।

ज्ञापनपत्रमा सहजकर्ताको भूमिका खेलिदिन राष्ट्रपतिलाई आग्रह गरिएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

उनले बिहीबार विहान बीबीसीसँग त्यस्तो सहजीकरणको भूमिका राष्ट्रपतिबाट हुन सक्ने बताएका थिए।

अवधारणा

करिब एक साताअघि असन्तुष्ट मोर्चाले उच्चस्तरीय राजनीतिक समितिमार्फत मुख्य दलहरुसँग गोलमेचको अवधारणा प्रस्तुत गरेको थियो।

उक्त पाँचबुँदे प्रस्तावमा गोलमेच सम्मेलनमार्फत निर्वाचनको मिति, नया सरकार गठन, नया संविधानको अन्तर्वस्तु, संविधान बनाउने प्रक्रिया र पद्धती, शान्ति प्रक्रियाका बाँकी विषयबारे छलफल लगायतका विषय राखिएका छन्।

तर मोर्चाले चाहेको जस्तो संवैधानिक अधिकारप्राप्त गोलमेचसभाको पक्षमा आफूहरु नरहेको उच्चस्तरीय राजनीतिक समितिका एक सदस्य तथा एमाले अध्यक्ष झलनाथ खनालले बताए।

परिकल्पना

उनले भने, "गोलमेचबाटै सरकार बनाउने, निर्वाचनको मिति तोक्ने, संविधानका अन्तरवस्तु तय गर्ने भन्नुहुन्छ। त्यस्तो संविधानसभाको समानान्तर हुने किसिमको शक्तिशाली गोलमेच हामी परिकल्पना गर्न सक्दैनौं।"

राष्ट्रपति र सरकार दुवै सहजीकरणका लागि तयार भएकाले मुख्य दलहरु र असन्तुष्ट समुहबीच बन्दप्राय हुन पुगेको कुराकानीको ढोका खुल्नसक्ने कतिपय बताउँछन्।

काठमाण्डूस्थित बीबीसीकी एक संवाददाता भन्छिन्, तर असन्तुष्टहरुको माग बमोजिमको जारी राजनीतिक प्रक्रिया नै फेर्ने किसिमको गोलमेच भने तत्काल संभव देखिन्न।