'गोलमेचको सहजीकरण गर्न राष्ट्रपति कार्यालय तयार'

  • 29 अगस्ट 2013
president
Image caption राष्ट्रपतिले यसअघि पनि बारम्बार सबै शक्तिलाई चुनावका लागि एकै स्थानमा आउन आह्वान गर्दे आएका छन्

राजनीतिक गतिरोध अन्त्यको प्रयासका लागि गोलमेच सम्मेलनको सहजीकरण गर्न आफू तयार रहेको तर त्यसअघि सबै राजनीतिक शक्तिबीच सहमति बन्नुपर्ने राष्ट्रपति कार्यालयले बताएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितको असन्तुष्ट मोर्चाले त्यस्तो सम्मेलनको सहजीकरण गरिदिन आग्रह गर्ने तयारी गरिरहेका बेला राष्ट्रपतिका एक जना सल्लाहकारले सो कुरा बताएका हुन्।

सूत्र

सरकारपक्षीय दलहरुसंग वार्ता सफल हुन नसकेपछि नेकपा-माओवादी नेतृत्वको असन्तुष्ट मोर्चाले राष्ट्रपति कार्यालयको ढोका ढकढकाउने तयारी गरेको हो।

चुनावी प्रक्रिया स्थगन लगायतका माग राखेको उक्त मोर्चाले राष्ट्रपतिले मध्यस्थतता गरिदिने गोलमेच सम्मलेन अहिलेको निकासको सूत्र हुने ठम्याइका साथ शीतल निवासलाई गुहार्ने निष्कर्षमा पुगेको हो।

यसको औपचारिक आग्रह आज बिहीबार गरिने नेकपा माओवादीका नेताहरुले सार्वजनिक गरिसकेका छन्।

तर एउटा पक्षले मात्रै गर्ने त्यस्तो आग्रहलाई लिएर अघि बढ्न राष्ट्रपति कार्यालय तयार छ कि छैन भन्नेबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल भन्छन्, “गोलमेच सम्मेलन सहमतिको सम्मेलन भएकाले यो गर्नका लागि सबै राजनीतिक पक्षको सहमति चाहिन्छ।”

संवैधानिक भूमिका

गोलमेच सम्मेलन राजनीतिक प्रकृतिको भएकाले संवैधानिक भूमिकामात्रै भएका राष्ट्रपतिको त्यस्तो सम्मेलनको आह्वानमा भूमिका केवल औपचारिकतामा मात्रै सीमित रहने कतिपयको ठम्याइ छ।

तर त्यस्तो आह्वानका लागि राष्ट्रपतिलाई संविधानले नरोक्ने संवैधानिक कानूनका एकजना ज्ञाता पूर्णमान शाक्यको तर्क छ।

उनले भने,“राष्ट्रपतिले मात्रै सबै पक्षलाई एकै स्थानमा ल्याउन सक्छन्। यसको सहजीकरण गर्न संविधानले उनलाई रोकेको छैन।”

दलहरुको आग्रहमा राष्ट्रपतिले गोलमेच सम्मेलनको सहजीकरण गरिदिहाले भने पनि त्यसलाई निचोडमा पुर्याउने वा नपुर्याउने भन्ने विषयको निर्धारण राजनीतिक शक्तिहरुकै गम्भीरताले गर्नेछ।