बृटिश संसदमा सिरिया बारे छलफल

  • 29 अगस्ट 2013
बृटिश संसद
Image caption बृटिश प्रधानमन्त्रीको भनाईमा युद्ध अपराध प्रति कस्तो प्रतिक्रिया जनाउने भन्ने कुरा आइ परेको छ

सिरियामा सैनिक हस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्ने कि नगर्ने भनेर बृटिश संसदमा चर्को छलफल भएको छ।

प्रधानमन्त्री डेभिड क्यामरुनले सिरीयाली द्वन्दमा कसैको पक्ष लिन अथवा सिरीयामा अतिक्रमण गर्न वा शासन परीवर्तन गर्न यो प्रस्ताव अघि सारेको होइन भनेका छन्।

उनकै भनाईमा, युद्ध अपराधप्रति कस्तो प्रतिक्रिया जनाउने भन्ने यहाँ कुरा आएको छ।

प्रधानमन्त्री क्यामरुनले कुनै कार्यवाही भएन भने डमास्कसले कुनै दण्डहिनता बिना फेरि पनि ठूलो स्तरमा रासायनिक हतियारको प्रयोग गर्न सक्ने निष्कर्श निकाल्न सक्छ भने।

मुख्य बिपक्षी दल लेबर पार्टीका नेता एड मिलिब्यान्डले भनेका छन्, उनको दलले सरकारको प्रस्तावलाई यही रुपमा स्विकार गर्न सक्दैन।

मिलिब्यान्डले संशोधनको प्रस्ताव राख्दै सिद्धान्तत सैनिक हस्तक्षेपको विराध नगरे पनि ती हमलाका लागि राष्ट्रपति असदको प्रशासन दोषी छ भन्ने अकाट्य प्रमाण आवश्यक पर्नेछ भने।

'प्रतिकार'

सिरियाका राष्ट्रपति बशर अलअसादले कुनै पनि बाह्य हमलाको आफ्नो देशले प्रतिकार गर्ने बताएका छन्।

सिरियाली संसदका सभामुखले लण्डनमा आफ्ना समकक्षीलाई एक पत्र लेख्दै ब्रिटिश संसदीय टोलीलाई छिटो भन्दा छिटो दमास्कसको भ्रमण गर्न निमन्त्रणा गरेका छन्

फ्रान्सका राष्ट्रपनि फ्राँन्स्वाँ ओलँले सैन्य हस्तक्षेपका सम्वन्धमा अझै निर्णय गरिसकेका छैनन्।

बिहिबार विपक्षी सिरियन न्यासनल कोयलिसका प्रमुख अहमद जार्वालाई भेटेपछि ओलँले राजनीतिक समाधानको संभावनाबारे कुरा गरेका थिए।

तर उनले अन्तराष्ट्रिय समुदायले जारी हिंसालाई अस्थायी रुपमा रोक्न सफल भएमात्र सिरियाको समस्याको राजनीतिक समाधान निस्कने बताएका थिए।

चेतावनी

यसैबीच चीनिया सरकारी समाचारपत्र चाइना डेलीले सिरियामा हवाई आक्रमणको निम्ति कुनै पनि बाहाना नखोज्न चेतावनी दिएको छ।

चाइना डेलीले सम्पादकीयमा राष्ट्रसंघीय अनुसन्धान सकिनु अगावै पश्चिमा देशहरुलाई आफैं न्यायाधिश, वकिल र सजाय कार्यान्वयनकर्ताको भूमिका खेल्न खोजेको आरोप लगाइएको छ।

Image caption राष्ट्रपति अलअसादको प्रमुख मित्र रुसले पनि सिरियामा कुनै विदेशी सैन्य हस्तक्षेप हुन नहुने बताएको छ

राष्ट्रपति अलअसादको प्रमुख अन्तराष्ट्रिय मित्र रुसले पनि सिरियामा कुनै विदेशी सैन्य हस्तक्षेप हुन नहुने बताएको छ।

अनुसन्धान

सिरियामा पश्चिमा देशहरुको सम्भाव्य हमलाबारे चर्चा परिचर्चा भइरहदा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले निरिक्षकहरुबाट रासायनिक हमलासम्वन्धी प्रतिवेदन आफूले शनिवार पाउने बताएका हुन्।

दमास्कस नजिकै भएको रासायनिक हमलामा गत साता सयौं मानिसको ज्यान गएको बताइन्छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया विरुद्ध सम्भाव्य हमलाका सम्वन्धमा आफूले निर्णय गरि नसकेको बताएका छन्।

राष्ट्रसंघीय अस्त्र निरिक्षकहरु दमास्कस नजिकै रसायनिक अस्त्र प्रयोग गरिएका भनिएका स्थानमा तेस्रो दिनको स्थलगत अनुसन्धानको काम गरिरहेका छन्।

Image caption सिरियामा आक्रमणको चिन्तासंगै थुप्रै सिरियालीहरुले लेबननको सीमा पार गरेको बताइएको छ

राष्ट्रसंघीय महासचिवले निरक्षकहरुको टोलीलाई अनुसन्धानको काम सिध्याउन समय दिन आग्रह गरेका छन्।

सिरियाले चाहीं रासायनिक अस्त्र प्रयोग गरेको भन्ने आरोप अस्वीकार गर्दै २१ अगष्टको हमलाको दोष विपक्षी लडाकूमाथि थोपरेको छ।

उस्ले पश्चिमा देशहरुले आक्रमण गर्ने बाहाना आविष्कार गरेको दोष लगाएको छ।

संवादाताहरु भन्छन् सिरियामा आक्रमणको चिन्ता बढेसंगै थुप्रै सिरियालीहरु लेबननको सीमा पार गर्दैछन्।

उनीहरु भन्छन् दमास्कसमा पनि मानिसहरु चिन्तिन हुन थालेका छन्।