रासायनिक आक्रमणको प्रमाण देखाउन अमेरिकालाई चुनौति

  • 31 अगस्ट 2013
Image caption रुसी राष्ट्रपतिले सिरियाले रासायनिक हतियार प्रयोग गरेको प्रमाण देखाउन अमेरिकालाई चुनौति दिएका छन्

सिरियाले विद्रोहीमाथि राजधानी दमास्कस नजिकै भएको आक्रमणमा रासायनिक हतियार प्रयोग गरेको प्रमाण संयुक्त राष्ट्रसँग समक्ष प्रस्तुत गर्न रुसी राष्ट्रपति भ्लादीमीर पुटीनले अमेरिकालाई चुनौति दिएका छन्।

अगष्ट २१ मा १,४२९ जनाको ज्यान जाने गरि भएको आक्रमणको घटनामाथि तयार पारिएको एउटा जासुसी प्रतिवेदनका आधारमा अमेरिकी राष्ट्रपति बराक ओबामाले नियन्त्रित सैन्य कारवाही गर्ने बताएका छन्।

राष्ट्रसंघीय हतियार निरिक्षकहरु चारदिनसम्म प्रमाण संकलन गरेर सिरियाबाट बाहिरिएका छन्।

अमेरिकाले भनेको छ, रासायनिक हतियार प्रयोग गरिएको आक्रमणबाट मारिनेहरुमा सयौं बालबालिका थिए ।

त्यो आक्रमण सिरियाली सरकारले गरेको अमेरिकाको दावी छ।

दोष

सिरियाले अमेरिकी दावी झूठले भरिपूर्ण भन्दै आक्रमणका लागि विद्रोहीहरुलाई दोष लगाएको छ।

राष्ट्रपति ओबामाले अमेरिकाले नियन्त्रित सैन्य जवाफी हमलाको योजना बनाइरहेको छ तर त्यस अन्तर्गत अमेरिकी सैनिकहरू सिरियको भूमीमा नखटाइने शुक्रबार बताएका थिए।

सिरियाबाट निरिक्षकहरु बाहिरिनुले अमेरिकी नेतृत्वमा हुने भनिएको सैन्य आक्रमणका लाग व्यवहारिक र राजनीतिक अड्चनको बाटो खुला भएको संवाददाताहरुले बताएका छन्।

दमास्कसस्थित बीबीसी संवाददाता जेरेमी बावेनले मानिसहरु चिन्तित रहेका छन् र उनीहरु तयारी गरिरहेका बताएका छन्।

अनुमान

ओबामाले भनेको नियन्त्रित आक्रमण भनेको के हो र त्यसले उनीहरुलाई कस्तो परिस्थितिमा धकेल्नेछ भन्ने उनीहरुले अनुमान गर्न सकेका छैनन्।

रुसको सुदुर पूर्वी नगर भ्लाडिभोस्तोकमा पत्रकारहरुसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटीनले नोबेल शान्ति पुरस्कार समेत पाएका अमेरिकी राष्ट्रपति ओबामाले सैन्यबल प्रयोग गर्नुअघि सिरियाका संभावित पीडीतहरुबारे सोच्न आग्रह गरेका छन्।

उनले सिरियाली फौजले जितिरहेका र धेरै क्षेत्रमा विपक्षीहरुलाई घेरिरहेका बताए।

पुटिनले सिरियाली सरकारलाई आक्रमणको दोष लगाउनु हास्यास्पद रहेको बताउँदै भने, "यो सिरियाली द्वन्द्वमा अन्य मुलुकलाई तान्न खोज्नेहरुले फैलाएको उत्तेजना मात्र हो।"