उम्मेदवारको खोजी तीव्र

  • 1 सेप्टेम्बर 2013
मुख्य दलका नेताहरु
Image caption निर्वाचन आयोगले उम्मेदवारको बन्दसूची बुझाउने मिति असोज ११ गतेलाई तोकेको छ

मुख्य दलहरुले आगामी मंसिर ४ गतेको लागि घोषित संविधानसभा चुनावको लागि उम्मेदवारको खोजी तीव्र पारेका छन्।

एकिकृत माओवादीले सम्भावित उम्मेदवारहरुको सुची लगभग सबै जिल्लाले केन्द्रमा पठाइसकेको बताएको छ।

सम्भावित नाम पठाउन नेपाली कांग्रेस र नेकपा एमालेले तल्ला पार्टी कमिटिहरुलाई निर्देशन दिएका छन्।

मुख्य दलहरुले भदौ भित्रै उम्मेदवारहरुको नाम छनौट गरिसक्ने बताएका छन्।

तयारी

आइतवार सुरु भएको नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष झलनाथ खनालले चुनाव सम्बन्धि व्यवस्थित योजना प्रस्ताव पेश गरेका छन्।

यसअघि नै स्थायी समितिबाट निर्णय गराएर प्रत्येक क्षेत्रबाट प्रत्यक्ष तर्फ कम्तिमा एक महिला सहित तीन जना र समानुपातिक तर्फ दुई जना सम्भावित उम्मेदवारको सूची पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको थियो।

तर आकाँक्षी बढेपछि दुईको साटो पाँच जनाको सम्भावित नाम पठाउन तल्लो निकायलाई निर्देशन दिईएको एमालेका सचिव युवराज ज्ञवाली बताउँछन्।

उनले भने “विभिन्न पक्षलाई समेट्नुपर्ने र समावेशिकरणको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने भएकाले हामीले दुई जनाको साटो पाँच जना सम्भावित उम्मेदवार पठाउन भनेका छौ।”

एकीकृत माओवादीको पूर्व स्थायी समिति, केन्द्रिय सदस्य र ब्युरो ईन्चार्ज सहितको बैठकमा २ सय ४० निर्वाचन क्षेत्रबाट संकलन गरिएको प्रतिवेदन र नेताहरुलाई चुनावि जिम्मेवारी बाँडफाँड गर्नेबारे छलफल भैरहेको छ।

बैद्य माओवादीसँगको फूटले चुनावी नतिजामा पार्न सक्ने प्रभावको मूल्याकंन भैरहेको बैठकमा प्रत्यक्ष तर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच सम्भावित उम्मेदवारको सूची प्रस्तुत गरिएको छ।

पूर्व स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले लगभग सवै क्षेत्रबाट नाम प्राप्त भएको र केहि दिन पछि पूर्व महासचिव पोष्टबहादुर बोगटी नेतृत्वको कार्यदलले उम्मेदवारको नामलाई अन्तिम रुप दिने बताए।

नामावली

नेपाली काग्रेसले प्रत्यक्ष तर्फ पाँच जनाको र समानुपातिक तर्फ तीन जना सम्भावित उम्मेदवारको सूची प्रत्येक निर्वाचन क्षेत्रबाट पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।

कांग्रेस केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले भदौ भित्र सवै क्षेत्रले नाम पठाइसक्ने र त्यसपछि पार्टीले संसदिय बोर्ड मार्फत उम्मेदवारको चयन गर्ने बताए।

निर्वाचन आयोगले उम्मेदवारको बन्दसूची बुझाउने मिति असोज ११ गतेलाई तोकेपनि भदौ भित्रै उम्मेदवारको छनौट गरिसक्ने तयारी मुख्य दलहरुको छ।

सरकारपक्षिय दलहरुले चुनावी तयारीलाई तिव्रता दिइरहे पनि विभिन्न माग राखेर आन्दोलन गरिरहेका असन्तुष्ट पक्षलाई चुनावमा ल्याउन प्रगति नहुँदा कतिपयले तोकिएको मितिमा चुनाव हुनेमा आंशका व्यक्त गरेका छन्।