हस्तक्षेप अघि कंग्रेसको समर्थन लिने ओबामाको घोषणा

  • 1 सेप्टेम्बर 2013
ह्वाइट हाउसमा बोल्दै बाराक ओबामा
Image caption राष्ट्रपति ओबामाले शनिबार अनपेक्षित रुपमा सैनिक कारवाही अघि कंग्रेसको अनुमोदन खोजेका थिए

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले, सिरिया विरुद्धको सैनिक कारवाहीलाई अनुमोदन गर्न, संसदको तल्लो सदन कंग्रेसलाई औपचारिक आग्रह गरेका छन्।

कंग्रेस समक्ष प्रस्तुत मस्यौदा विधेयकले सिरियाली सरकारलाई रासायनिक हमला गर्नबाट रोक्न बल प्रयोगका लागि अनुमोदन खोजेको छ।

राष्ट्रपति ओबामाले कंग्रेसको समर्थनका निम्ति त्यस्तो अनपेक्षित निर्णयको घोषणा शनिबार गरेका थिए।

संयुक्त राज्य अमेरिकि सेनाको परम सेनाधिपति पनि भएकाले राष्ट्रपति ओबामालाई सैनिक हमलाको आदेश दिनका लागि कंग्रेसको सहमति नचाहिने संवैधानिक अधिकार प्राप्त छ।

छलफल

तर उनले यस विषयमा संसदीय छलफल हुनु महत्वपूर्ण रहेको बताएका छन्।

उनले अमेरिकी शक्ति सेनाको क्षमतामा मात्र नभई त्यहांका जनताको, जनताबाट र जनताका निम्ति निर्मित सरकारमा समेत निहित रहेको बताएका छन्।

उनले सिरियाली सरकारमाथि राजधानी दमस्कसको बाहिरी क्षेत्रमा विषालु ग्यास आक्रमण गरेको आरोप पुन: लगाउंदै त्यो मानव आत्मसम्मान र अमेरिकी राष्ट्रिय सुरक्षामाथि कै हमला भएको बताएका छन्।

उनले सिरिया विरुद्धको कारवाही सीमित अवधिको हुने बताउंदै भने, “यो खुला प्रकृतिको हस्तक्षेप हुने छैन, हामी सैनिकहरुलाई स्थलमा उतार्ने छैनौं। बरु हाम्रो कारवाही अवधि र उद्देश्यका हिसाबले सीमित हुनेछ।“

अमेरिकि राष्ट्रपतिले सैनिक कारवाही, भविष्यमा रासायनिक आक्रमण हुन नपाओस् भन्ने सुनिश्चित गर्न कडा प्रकृतिको पनि हुने बताएका छन्।

दोष

सिरिया सरकारले ती आक्रमणका पछाडि आफ्नो हात नरहेको भन्दै त्यसका लागि विद्रोहीहरुलाई दोष दिएको छ।

वाशिंगटनबाट बीबीसी सम्बाददाता केटी वाटसन् भन्छिन्, सिरियामा हस्तक्षेप गर्नु अघि उनी जनता र राजनीतिज्ञहरु आफ्ना पक्षमा रहेको हेर्न चाहन्छन्।

तर यदि कंग्रेसले सैनिक हस्तक्षेपको विपक्षमा मत दिएमा उनको कदम के होला भन्ने चाहिं स्पष्ट छैन।

सिनेटमा रिपब्लीकनहरुका नेता मिच मक्कोनेलले राष्ट्रपतिको निर्णयको स्वागत गरेका छन्।

उनले कंग्रेसको समर्थन प्राप्त भएमा राष्ट्रपतिले निर्वाह गर्ने देशको सेनाको परम सेनाधिपतिको भूमिका अझ बलियो हुने पनि बताएका छन्।

संयुक्त राज्य अमेरिकाको कंग्रेसको बैठक अब नौ दिनपछि बस्दैछ।