'अमेरिका पछाडि हट्ने प्रक्रियाको शुरुवात'

  • 1 सेप्टेम्बर 2013
Image caption सिरियाली सरकारी पक्षले ओबामालाई संकोची र अन्यौलग्रस्त भनेको छ भने विपक्षीहरुले असफल

सिरियाले सैन्य आक्रमण पछाडि सारेकोमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई संकोची र अन्यौलग्रस्त भनेको छ।

सिरियाली उप विदेश मन्त्री फैजल मकदादले सिरियाविरुद्धको कुनैपनि अमेरिकी आक्रोश इरान विरुद्धको पनि आक्रोश हो भन्छन्।

सिरियाली राज्य समर्थित अखबारले ओबामाको निर्णयलाई अमेरिका पछाडि हट्ने प्रक्रियाको शुरुवात भनेको छ।

फ्रान्सले पनि सिरिया विरुद्ध कंग्रेसमा मतदान नभएसम्म कुनै आक्रमण नगर्ने बताएको छ।

कंग्रेसमा मतदान हुन एकहप्ता भन्दा केहि बढि समय बाँकी छ।

तयारी

सिरियाली सरकारले भनेको छ उ जुनसुकै आक्रमणका लागि तयारी अवस्थामा छ।

उसको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति बाराक ओबामाको कंग्रेसमा मतदान पछि मात्रै कारवाही गर्ने निर्णय पछि आएको छ।

सिरियाली उप विदेश मन्त्री फैजल मक्दादले त्यो कदमलाई एउटा राजनीतिक र सन्चार माध्यमको चलखेल भनेका छन्।

सिरियाली विपक्षीहरुले अमेरिकी नेतृत्वको असफलता भनेका छन्।

शनिबार ओबामाले सिरियाली समस्याबारे बोलिसक्ने वित्तिकै सिरियाली सरकारी फौजले विपक्षीको नियन्त्रणमा रहेको दमास्कसका क्षेत्रहरुमा गोलाबारी शुरु गरेका छन्।

सिरियाली संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम महमुदले बीबीसीलाई भने हाम्रा समर्थकहरुले हामीलाई पूर्ण सहयोग दिने बताएका छन् तर हाम्रो युद्ध लड्न हामीलाई बाहिरी सहयोग आवश्यक छैन।

ऐतिहासिक

राज्य नियन्त्रित अल- थावराअखबारले भनेको छ ओबामाको निर्णय ऐतिहासिक रुपमा अमेरिका पछि हट्ने प्रक्रियाको शुरुवात हो।

अमेरिकाले भनेको छ १ हजार ४ सय २९ जनाको रासायनिक हतियार आक्रमणमा परेर गत अगष्ट २१ मा सिरियामा मृत्यु भएको छ।

ओबामाले यस्ता आक्रमणले खतराको रेखा पार गर्ने र त्यसले सिरिया विरुद्ध अमेरिकी हस्तक्षेपलाई निमत्याउने बताएका छन्।

सिरियाले उसको सेनाले रासायनिक हतियार प्रयोग गरेको अस्वीकार गर्छ।