सिरियामा विषालु ग्यास सरिनको प्रयोग भएको प्रमाण छ: अमेरिका

  • 2 सेप्टेम्बर 2013
अमरिकि राष्ट्रपति ओबामा
Image caption सिरियाविरुद्ध सीमित प्रकृतिको लक्षित सैनिक कारवाहीको योजना आफ्नो सामु रहेको ओबामाले बताएका छन्

अमेरिकि विदेश मन्त्री जोन केरीले गत महिना सिरियाको राजधानी दमस्कस नजिकैको क्षेत्रमा सैयौं सिरियाली सर्वसाधारणको ज्यान जाने गरि गरिएको रासायनिक हमलामा सरिन नामक स्नायु प्रणालीमा असर गर्ने नर्भ एजेन्ट प्रयोग गरिएको बारे आफुसंग अब पक्का सबुत भएको बताएका छन्।

आपतकालीन कामदारहरु मार्फत हमला स्थलबाट संकलन गरिएका रगत तथा कपालका नमुनाहरुको जाँचको नतिजामा सरिन प्रयोग भएको देखिएको उनले बताएका हुन।

अमेरिकाले गत अगस्ट २१ मा सिरियाको राजधानीको बाहिरी भागमा भएको रासायनिक हमलाको दोष सिरियाली सरकारलाई लगाउँदै आएको छ।

राष्ट्रपति ओबामाले त्यसको बदलामा कारवाहीको अठोट गरेका छन् तर त्यसका लागि पहिले अमेरिकि कंग्रेसको समर्थन चाहिरहेका छन्।

बिषालु ग्यास प्रयोगको प्रतिकृयामा सिरियाली सरकार विरुद्ब सैनिक कारवाहीका लागि राष्ट्रपति ओबामाले गरेको आह्वानलाई अमेरिकि कंग्रेसले समर्थन गर्नेमा आफु विश्वस्त रहेको पनि विदेश मन्त्री केरिले बताएका थिए।

उनले भने “हामीले सो कारवाही नचाहनु भनेको असद सरकारलाई ग्यास प्रयोगको लाईसेन्स दिनु सरह नै हो।”

झुटो आरोप

तर सिरियाले आफु माथि गरिने भनिएको आक्रमणमा भईरहेको यस्तो ढिलाईको बेवास्ता गर्दै आफु कुनै पनि प्रकारको हमलाका लागि तयार रहेको जनाएको छ।

सिरियाका उप विदेश मन्त्री फैजल मेकदादले भने “आक्रमण आज शुरु हुन्छ कि भोलि हामीलाई मतलब छैन तर अमेरिकि जनता तथा अन्तराष्ट्रिय समुदायको धारणामा यो कुरा स्पष्ट भईसकेको छ कि ओबामा र उनका विदेश मन्त्रीले लगाएका आरोपहरु गलत र झुटा हुन।”

Image caption सिरियामाथि आक्रमण गरे त्यो ईरानमाथिको आक्रमणको रुपमा पनि बुझिने सिरियाले बताएको छ

सिरियाले सैनिक कारवाही गर्ने भनी दिएको धम्कीमा अमेरिकी कंग्रेसको समर्थन नहुँदा राष्ट्रपति ओबामा ‘हिच्किचाएको तथा अन्यौलमा परेको’ भनी व्याख्या गरेको छ।

सिरियाका उप विदेश मन्त्री मेकदादले सिरिया विरुद्ब गरिने अमेरिकि आक्रमण ईरान विरुद्ब पनि हुने जनाएका छन्।

मन्त्री फैजलले दमस्कसको बाहिरी क्षेत्रमा भएको रासायनिक हमलामा सरकार दोषी रहेको आरोप अस्वीकार गरेका छन्।

निरुत्साहित गर

यसबीच अरब लिगले सिरियालाई निरुत्साहित गर्ने कदम चाल्नका लागि संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।

कायरोमा भएको अरब देशका विदेश मन्त्रीहरुको एक बैठकमा लिगले रासायनिक हमला सिरियाली सरकारले नै गरेको भनी फेरि आरोप लगाएको छ।

भेलाका सहभागीहरुले “सिरियाली सरकार जिम्मेवार रहेको यो अपराधका दोषीहरुलाई निरुत्साहित गर्न विश्वले नै आवश्यक कदम चाल्नु पर्छ” भनेका थिए।

एक विज्ञप्ति मार्फत उनीहरुले यस घटनाका जिम्मेवारहरुलाई युद्ब अपराधको अभियोग लगाईनु पर्ने पनि जनाएका छन्।