असद सत्ता नै रासायनिक हमलाको जिम्मेवार: फ्रान्स

  • 3 सेप्टेम्बर 2013
सिरियाली शरणार्थी
Image caption द्वन्द्वका कारण सिरियामा दशौं लाख मानिसहरु विस्थापित भएका छन्

फ्रान्सका प्रधामन्त्री जाँ माँ एरोउले आफ्नो संसद सामु प्रस्तुत गरेको एक जासुसी रिपोर्टमा, गत महिना सिरियाको राजधानी दमस्कसको बाहिरि क्षेत्रमा, सिरियाली सरकारले रासायनिक आक्रमण गरेको बताईएको छ।

‘यस्तो हमलाको आदेश तथा कार्यान्वयन सिरियाली सरकार वाहेक अरु कसैले गरेको हुनै नसक्ने’ फ्रान्सको दावी छ।

उक्त रिपोर्टमा सिरियामा भारि मात्रामा रासायनिक एजेन्टको प्रयोग भएको उल्लेख छ।

त्यसपश्चात हमलास्थलबाट प्रमाणहरु मेटाउन तथा संयुक्त राष्ट्रसंघका अस्त्र निरिक्षकहरुको भ्रमणमा ढिलाई गराउन, सिरियाली सरकारले त्यहाँ बम विष्फोट गराएको पनि सो रिपोर्टमा उल्लेख छ।

रिपोर्टले सो घटनामा कम्तिमा २८१ जनाको ज्यान गएको निश्कर्ष निकालेको छ।

कुतर्क

प्रधानमन्त्री एरोउ ले यसरी रासायनिक अस्त्रको प्रयोग अनुत्तरित रहन नसक्ने टिप्पणी गरेका छन्।

उनले बसर अल असदको सत्ताद्बारा रासायनिक अस्त्र प्रयोग भएकोमा सजाय दिन तथा भविष्यमा त्यसो हुन नदिन फ्रान्स प्रतिबद्ब भएको पनि बताए।

“तर त्यो कारवाहि उनलाई सत्ताच्युत गर्न वा सिरियालाई स्वतन्त्र बनाउन लक्षित हुने छैन,” उनको भनाई थियो।

फ्रान्सकै एक पत्रिकालाई अन्तर्वार्ता दिंदै सिरियाका राष्ट्रपति बसर अल असदले रासायनिक आक्रमण आफ्नो सरकारले गरेको आरोप, अस्वीकार गर्दै त्यो ‘कुर्तक’ भएको बताएका छन्।

उनले आफ्नो देशमाथि पश्चिमा देशहरुले गर्ने आक्रमणले क्षेत्रिय युद्ब निम्त्याउने भन्दै त्यस विरुद्ब चेतावनी दिएका छन्।

थुप्रैको ज्यान जाने गरि गत महिना सिरियामा भएको रासायनिक हमलाको बिषयलाई लिएर अमेरिका र फ्रान्स सिरिया माथि तत्काल सैनिक कारवाही गरिनु पर्ने बताईरहेका छन्।

तर ब्रिटेनको संसदले गत साता प्रधानमन्त्री डेभिड क्यामरनले अघि सारेको सैनिक हस्तक्षेपको प्रस्तावलाई अस्वीकृत गरिदिएको थियो।

जातिय हिंसा

यसबीच सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मोख्तार लामानीले सिरियामा भईरहेको हिंसाले उक्त देशलाई आम नरसंहार तर्फ डोर्‍याइरहेको चेतावनी दिएका छन्।

बीबीसीसंग कुरा गर्दै उनले भने, “जातिय हिंसाको वृद्धि डरलाग्दो तरिकाले भइरहेको छ। मानिसहरु सुन्नी, अलावाईट्स अथवा क्रिश्चियन भएका आधारमा आफ्ना गाउँबस्तीबाट भागिरहेका छन्।”

यी मध्ये मुख्यत: राष्ट्रपति असदको समुदाय अलावाईट्स अल्पसंख्यक बढि खतरामा छ, तर क्रिश्चियनहरुलाई पनि निशाना बनाईएको पाईएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार, द्बन्द्ब शुरु भए यता अहिले सम्म अनुमानित ७० लाख सिरियालीहरु अर्थात त्यहाँको जनसंख्याको एक तिहाई मानिसहरु घर छाडी भागेका छन्।