भूमध्य सागरमा इजरेलको क्षेप्यास्त्र परीक्षण

  • 3 सेप्टेम्बर 2013
सिरियाली शरणार्थी
Image caption सिरियाका विस्थापित एवं शरणार्थीहरुको संख्या २० लाख नाघेको राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ

अमेरिकासित मिलेर इजरेलले भूमध्य सागरमा क्षेप्यास्त्र परीक्षण गरेको कुराको पुष्टी गरेको छ।

एक जना बरिष्ठ इजरेली अधिकारीले बताए अनुसार एउटा लडाकु बिमानबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको थियो।

अमेरिकी सरकारले सिरियामाथि सैनिक हमलाको लागि कंग्रेसको समर्थन खोजी रहेको बेलामा यो परिक्षण भएको छ।

कारवाहीको योजना

वासिङटनबाट प्राप्त विवरणहरुमा भनिएको छ राष्ट्रपति ओवामाले सिरियाविरुद्ध सैन्य कारवाही गर्ने योजना बनाइरहेका छन्।

त्यस्तो कारवाही रसायनिक अस्त्रलाई निशाना बनाउने भन्दा धेरै फराकिलो प्रकारको हुने बताइएको छ।

यस अघि सिरियामा रसायनिक अस्त्रलाई लक्षित गरेर सीमित आक्रमण गरिनु पर्ने प्रस्ताव सार्वजनिक भएको थियो।

अमेरिकी सेनाका एक पूर्व अधिकारी जनरल ज्याक किएनले व्हाइट हाउसका अधिकारीहरुसंग भेटेका रिपब्लिकन सिनेटरहरुसंग त्यसबारे कुराकानी गरेका थिए।

'उल्लेख्य क्षति'

उनले बीबीसीलाई भने ती सिनेटरहरुलाई राष्ट्रपति ओवामाले राष्ट्रपति असादका सैन्य फौजलाई उल्लेख्य रुपमा क्षति पुर्‍याउने योजना आफूसंग रहेको बताएका थिए।

तर त्यस निम्ति ओवामालाई कंग्रेसको समर्थन आवश्यक पर्छ।

जनरल किएनले सिरियाका विपक्षी समुहहरुलाई दिइदै आएको सहयोग थप्ने योजना पनि बनेको बताए।

सिरियाको संकट गहिरिदै जाँदा सिरियाका विस्थापित एवं शरणार्थीहरुको संख्या २० लाख नाघेको राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ।

गत ६ महिनामा शरणार्थीहरुको संख्या दश लाख थपिएको युएनएचसीआरको भनाइ छ।

अमेरिका र फ्रान्स सिरियामा रसायनिक अस्त्र प्रयोग गरिएको भन्दै त्यहाँ सैन्य कारवाही गर्नु पर्ने पक्षमा देखिएका छन्।