‘तराई केन्द्रित दलहरुको चुनावी तालमेल तीब्र'

  • 4 सेप्टेम्बर 2013
निर्वाचन आयोग
Image caption निर्वाचनको मिति नजीकिंदै जांदा तालमेलको कुरा पनि चर्कंदै छ

चुनावको मिति नजिकिदै जांदा तराई केन्द्रित दलहरुले अन्य शक्तिसंग चुनावी तालमेलको तयारीलाई तीव्र बनाएका छन्।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले तराई केन्द्रीत दलहरुसँग पनि तालमेल गरेर जाने भन्दै वार्ताको ढोका खुल्ला गरेको हिजो सार्वजनिक गरेको थियो।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्, “तराईमा मुख्य गरी तीन दलहरु छन्। उनीहरुसँग पनि तालमेल गर्न सकिन्छ। त्यसको लागि हामी खुल्ला छौं।”

तर फोरम नेपाल एकिकृत नेकपा माओवादीसँग बढी नजिक भएको ठानिन्छ।

बाध्यता

कतिपय साझा मुद्दा भए पनि अलग राजनीतिक दृष्टिकोणका कारण विभिन्न पार्टीहरु तराईलाई केन्द्र बनाएर चुनावी मैदानमा सहभागी छन्।

विश्लेषकहरु तराई केन्द्रित पार्टीहरुमा तत्काल एकिकरणको सम्भावना नदेखिएपनि चुनावी तालमेलको रणनीति उनीहरुको अस्तित्व रक्षाको बाध्यता हुन सक्ने बताउंछन्।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल हुने खबर भने पहिले नै सार्वजनिक भइसकेको छ।

तर यस्तो तालमेल बाध्यताको उपज भएको तराई मामिलाका जानकार एकजना पत्रकार चन्द्र किशोर झा बताउछन्।

उनी भन्छन्, “मधेसी दलहरुमा एकिकरणको प्रक्रिया अब सम्भव छैन। त्यसकारणले आफ्नो अस्तित्व जोगाउन र मुद्दाको पनि अस्तित्व जोगाउन उहाँहरुलाई तालमेल गरेर जानुपर्ने बाध्यकारी अवस्था छ।”

तराई केन्द्रित अर्को दल सद्भभावना पार्टीले भने एक्लै सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएको छ।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले पनि तराईमा आफ्नो उपस्थिति शसक्त बनाउदै लगेकोले तराई केन्द्रित दलहरुलाई यस पटकको निर्वाचन अघिल्लो जस्तो सहज नहुने कतिपय विश्लेषकहरुको बुझाई छ।