नेपाल सेमिफाइनलमा

  • 5 सेप्टेम्बर 2013
नेपाली खेलाडीहरु
Image caption दर्शकहरुको ठूलो उपस्थितिले नेपाली खेलाडीहरुको उत्साह बढाएको ठानिएको छ

भारतलाई ‌१ का विरुद्ध २ गोलले पराजीत गर्दै नेपाली टोली साफ फुटबल च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।

नेपालका दुई स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले गोल गरेका हुन् ।

दक्षिण एसियाका आठ राष्ट्रहरुले भाग लिइरहेको यो जितसंगै नेपाल समूह विजेता पनि बनेको छ ।

तीन खेलमा नेपालको २ जित र १ बराबरी भएको थियो ।

दक्षिण एसियाली फुटबलको महारथी मानिने तथा पांच पटक साफ च्याम्पियन जितिसकेको भारतले नेपाल विरुद्ध लामो समयदेखि वर्चश्व जमाउदैं आएको थियो, तर पछिल्लो विजयसंगै नेपालले त्यो वर्चश्व तोडेको मानिएको छ ।

इतिहास विरुद्ध वर्तमान

यसअघि सन् २००५ मा नेपालले भारतलाई एएफसी च्यालेन्ज कपको क्वार्टर फाइनलमा पराजित गरेको थियो तर त्यो भारतको २३ वर्ष मुनिको टोली भएकोले नेपालले राष्ट्रिय टोलीलाई हराएको २० वर्ष पछि पहिलो मानिएको छ ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई हराउदैं स्वर्ण पदक जितेको थियो ।

भारतसंग खेलेको १३ खेलमा नेपालले २ खेलमा मात्र विजय पाउन सकेको छ । १० खेलमा भारत जितेको छ ।

एक वर्ष अगाडि भारतको नयाँ दिल्लीमा भएको नेहरु कप फुटबलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

दावेदार

बिहीबार ५ पटकको विजेता भारतलाई दशरथ रंगशालामा भरिएका झन्डै २० हजार दर्शकहरुका माझ नेपाली खेलाडीहरुले प्रभावकारी खेल पस्केका थिए ।

मध्यान्तरसम्म दुबै टोलीले गोल गर्न नसकेको खेलमा नेपाली खेलाडीहरुले मध्यान्तरपछि एकपछि अर्को आक्रमण गरेका थिए ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दा र त्यसपछि पाकिस्तानसंग बराबरी खेल्दाको प्रदर्शनलाई पनि थुप्रै दर्शकले धेरै समयपछिको राम्रो खेल भनेका छन् ।

दर्शकहरुको समर्थनले गर्दा पनि नेपालले निकै राम्रो खेल्न सकेको विपक्षी र नेपाली प्रशिक्षकले मानेका छन् ।

नेपाली प्रशिक्षक ज्याक स्टेफानोस्कीले भने, "दर्शकको साथले खेलाडीहरुमा हौसला बढेको छ । दर्शक नेपालका १२ औं खेलाडी हुन् ।"

सम्भावना

नेपालले अब सेमिफाइनलमा माल्दिभ्स वा अफगानिस्तानमध्ये एक टोलीसंग सेमिफाइनलमा खेल्नेछ ।

माल्दिभ्सले खेलेको २ खेलमा १८ गोल गरिसकेको छ । अफगानिस्तानसंग नेपाल गत संस्करणको सेमिफाइनलमा पराजित भएको थियो ।

तर यसपाली टोलीले राम्रो फुटबल पस्किरहेकोले जुनसुकै विपक्षीसंग खेल्न तयार रहेको खेलपछिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक स्टेफानोस्कीले बताए ।

नेपालका स्ट्राइकर अनिल गुरुङले टिम भावनाले खेलिरहेकोले नेपालले त्यो लय कायम राख्ने बताए ।

प्रतियोगितामा २ गोल गरिसकेका उनले भने, "टिमको भावना बलियो छ । समन्वय राम्रो छ । यो नै मुख्य विषय हो ।"

नेपालले सेमिफाइनल आइतबार खेल्नेछ ।

‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌