संघीय समाजवादीसंग आज सहमतिमा ‘हस्ताक्षर’

  • 6 सेप्टेम्बर 2013
ec
Image caption निर्वाचन आयोगले असन्तुष्टहरुलाई छिट्टै सहमतिमा नल्याए उनीहरुलाई कुर्न नसकिने बताउंदै आएको छ

असन्तुष्ट पक्षमध्येको एक संघीय समाजवादी पार्टी र मुख्य दलसम्मिलित उच्च समितिबीच शुक्रवार सहमतिपत्रमा हस्ताक्षर हुने नेताहरुले बताएका छन्।

यसपछि अर्को असन्तुष्ट पक्ष नेकपा-माओवादीलाई सहमतिमा ल्याउने चुनौती रहेपनि चुनावको वातावरण बन्दै गएको रुपमा उनीहरुले पछिल्लो सहमतिलाई अर्थाएका छन्।

वातावरण

संविधानसभालाई ६०१ सदस्यीय बनाउने, सर्वदलीय सम्मेलन गर्ने लगायतका आफूहरुको माग पूरा हुने भएपछि शुक्रजवार हस्ताक्षर हुन लागेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले बताए।

यसअघि नै हस्ताक्षर हुने भनिएपनि सर्वदलीय सम्मेलनको प्रारुपबारे कुरा नमिलेपछि सरेको थियो।

अब सर्वदलीय सम्मेलनमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दललाई सहभागी गराउन बाटो खुलेको श्रेष्ठको तर्क छ।

उनले भने,"हाम्रा माग पूरा हुने भएको छ । यसले चुनावमा हाम्रो सहभागिता सुनिश्चित गरेको छ।"

चुनौती

यद्यपि असन्तुष्ट पक्षमध्येको मुख्य घटक नेकपा-माओवादी अझै पनि सहमतिमा नआएकाले चुनावको वातावरण बनि सकेको रुपमा हेर्न नमिल्ने अर्काथरीको तर्क छ।

मुख्य दलका नेताहरु पनि त्यो चुनौती रहेको स्वीकार गर्छन्।

तीमध्येका एक एमाले नेता रघुजी पन्तले भने, “नेकपा-माओवादी चुनावमा आओस् भन्ने हाम्रा चाहना छ। मुलुक र जनताको हीतका लागि पनि उसले चुनावमा सहभागी हुने निर्णय गर्नुपर्छ।”

हालै निर्वाचन आयोगले आउंदो सोमवारपछि असन्तुष्ट पक्षहरुलाई चुनावी प्रक्रियामा सामेल गराउन नसकिने बताइरहेका बेला नेकपा-माओवादीलाई सहमतिमा ल्याउन मुख्य शक्ति समक्ष समय अत्यन्तै कम हुंदै गएको देखिन्छ।