दलहरु सामाजिक सञ्जालबाट चुनाव प्रचारमा

  • 6 सेप्टेम्बर 2013
Image caption सामाजिक सञ्जालबाट मतदाता तान्ने अभियानमा लाग्ने दलहरुको निर्णय।

आगामी मंसिर चारमा हुने भनिएको निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरुले मतदाताहरुलाई आकर्षित गर्न सामाजिक सञ्जालका वेबसाइटहरुको प्रयोगलाई बढाउने निर्णय गरेका छन्।

फेसबुक, ट्विटर, लिंक्ड इन, युट्युब जस्ता सञ्जालहरुमा उल्लेख्य रुपमा नेपाली प्रयोगकर्ताहरु बढ्दै गएपछि राजनीतिक दलहरुले यसलाई पनि चुनाव प्रचारको साधनको रुपमा प्रयोग गर्न थालेका विज्ञहरुको भनाई छ।

कारण

फेसबुक, ट्विटर, लिंक्ड इन, युट्युब जस्ता सामाजिक सञ्जालहरुलाई पनि चुनावी प्रचार अभियानको साधनको रुपमा प्रयोग गर्ने औपचारीक निर्णय हिजो मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको छ।

यस अघि नै नेकपा एमाले, एकिकृत नेकपा माओवादी लगायतका दलहरुले पार्टीको प्रचार प्रसारका निम्ति त्यस्तो उपायको प्रयोग गर्दै आएका छन्। संगसंगै पार्टीका नेताहरु पनि आफ्नो व्यक्तिगत एकाउण्ट मार्फत पछिल्लो समय सामाजीक संजालमा सकृय देखिंदै आएका छन्। खासगरी एकिकृत माओवादीका बाबुराम भट्टराई, नेपाली कांग्रेसका रामशरण महत, गगन थापा, नेकपा एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरु फेसबुक र ट्वीटरमा विशेष सकृय देखिन्छन्।

चुनावलाई लक्ष्यित गरी सामाजिक सञ्जालका वेबसाइटहरुको प्रयोग गर्ने निर्णय गर्नुको कारणबारे राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्छन्, “सामाजिक सञ्जालमा सबैभन्दा बढि युवाहरुको नै उपस्थिति भएकोले हाम्रो मुद्दाहरु उनीहरु समक्ष पुर्याउने यो एउटा सशक्त माध्यम हुनसक्छ भनेर हामीले यसलाई प्रयोग गरेका हौं।”

प्रभाव

नेपालमा राष्ट्रिय जनगणना २०६८ अनुसार तीन प्रतिशत परिवारसँग मात्रै इन्टरनेटको पहुँच छ।

तर सामाजिक सञ्जालका प्रयोगकर्ताहरु झण्डै पच्चीस लाखको हाराहारीमा रहेको बताइन्छ।

सामाजिक सञ्जालको फाइदा भनेको थोरै मेहनतमा एकैपटक धेरैजनासँग अन्तरक्रिया गर्न पाइन्छ।

त्यसैले राजनीतिक दल र कतिपय नेताहरु सर्वसाधारणसँग अन्तरक्रिया गर्ने उदेश्यले सामाजिक सञ्जलमा जोडिन आइपुगेका छन्।

चुनावी प्रयोजनको लागि यसलाई प्रयोग गर्नुको कारणबारे सामाजिक सञ्जालका एकजना जानकार, पत्रकार उज्वल आचार्य भन्छन्, “सामाजिक सञ्जालमा सक्रियहरुले यो पार्टी वा ब्यक्तिलाई भोट हाल्नुपर्छ है भनेर आफ्नो परिवारलाई प्रभावित गर्न सक्छन भनेर दलहरुले सामाजिक सञ्जाललाई प्रयोग गरेको हो जस्तो लाग्छ।”

तर सामाजिक सञ्जालहरुलाई सहि प्रयोग गर्न नसके फाइदाको साटो बेफाइदा पनि हुनसक्ने यस सम्बन्धि जानकारहरुको भनाई छ।