कार्यकर्ता पक्रिएको भन्दै एकीकृत माओवादी सडकमा

  • 7 सेप्टेम्बर 2013
मानव अधिकारकर्मीहरु
Image caption मानव अधिकारकर्मीहरुले अनशनरत अधिकारी दम्पत्तिको मागमा ऐक्यबद्धता जनाएका थिए

गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले फुजेल ७ का रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एकीकृत नेकपा माओवादी सडकमा उत्रिएको छ।

“यो कदम निर्वाचन भाँड्ने षडयन्त्रको रुपमा आएको हामीलाई लागेको छ। त्यसकारण शनिबार हामीले काठमाण्डौं उपत्यका, गोरखा र चितवन बन्दको घोषणा गरेका छौं,” एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले बीबीसीलाई बताए।

सापकोटाले यस विषयमा आफ्नो पार्टि आन्दोलित भएको र थप विरोधका कार्यक्रमहरु गरिने बताए।

पक्राउ

प्रहरीले आरोपीलाई काठमाण्डौं वागबजारबाट पक्राउ गरी चितवन लगेको चितवनका प्रहरी नायब उपरीक्षक संजय राउतले बताएका छन्।

आफ्ना छोराका हत्याराहरुलाई पक्राउ नगरेसम्म अनशनरत रहने भन्दै आएका अधिकारीका आमाबुबाको स्वास्थ स्थिति खराब बन्दै गरेको बेला प्रहरीले एकजना आरोपीलाई पक्रेको हो।

अधिकारीका आमाबुबा अनशनमा बसेपछि सरकारले घटनाको अनुसन्धान अगाडी बढाउन चितवनमा प्रहरीलाई पत्र पठाएको थियो।

कृष्णप्रसाद अधिकारीलाई द्वन्द्वकालमा अपहरण गरी चितवनको रत्ननगर टाडीमा हत्या गरिएको बताइन्छ।

प्रहरीका अनुसार उनको हत्यामा आरोपित अन्य व्यक्तिहरुको खोजी भइरहेको छ।