अन्य निकायमा पनि छापा मार्छौं: राजश्व अनुसन्धान विभाग

  • 7 सेप्टेम्बर 2013
अर्थ मन्त्रालय
Image caption सरकारले नियमित प्रक्रिया अन्तर्गत छापा मारिएको बताएको छ

राजश्व अनुसन्धान विभागले शुक्रबार विभिन्न पेशाकर्मीहरुका ६ वटा कार्यस्थलमा छापा मारेपछि त्यसको समर्थन र विरोधमा प्रतिक्रियाहरु व्यक्त भएका छन्।

आयकर र मुद्रा अभिवृद्धि कर वा भ्याट छलीको आरोपमा छापा मारी उक्त स्थानहरुबाट अर्थ मन्त्रालय अन्तर्गतको सो विभागले आवश्यक कागजात र कम्प्युटरहरु लगेको थियो।

केही पेशाकर्मीले यसलाई आफुमाथि राजनीतिक प्रतिशोधका कारण बदनाम गर्ने प्रयास गरिएको बताएका छन्।

विभागले चाहीं यो कार्य कसैलाई दुख दिने नियतले नभई, नियमित प्रक्रिया भएको र यसलाई जारी राख्ने बताएको छ।

नियमित प्रक्रिया

आयकर र भ्याट छलीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई वटा कानुन व्यवसायीको कार्यालय, दुई वटा इन्जिनियरको कार्यालय, एउटा चार्टर्ड एकाउन्टेन्टको कार्यालय र एउटा चिकित्सकको कार्यालयमा छापा मारेको थियो।

उद्योगी र व्यापारीहरु जस्तै सेवामूलक पेशाकर्मीहरुलाई पनि करको दायरामा ल्याउन छापा मारिएको विभागले बताएको छ।

विभागका महानिर्देशक खुमराज पुञ्जाली भन्छन्, "केही पेशाकर्मीहरुले आफुले बुझाउन पर्ने कर नबुझाएको र बुझाउनु पर्ने जति नबुझाएको भन्ने सूचना हामीलाई प्राप्त भएको थियो। त्यसैको आधारमा हामीले छापा मारेको हो। यस्तो काम विभागको नियमित प्रक्रिया अन्तर्गत पर्छ। कसैलाई अनावश्यक दुख दिने नियतले यसो गरीएको होइन।"

महानिर्देशक पुञ्जालीले अनुसन्धानबाट भ्याट छलीमा दोषी पाईए छली गरेको रकमको शत प्रतिशत सम्म जरीवाना गर्न सकिने बताए।

आयकरको हकमा शुल्क जरीवाना सहित ५५ प्रतिशत थप दस्तुर लाग्न सक्ने उनले बताए।

विरोध

विभागले वरिष्ठ अधिवक्ता शम्भु थापाको कार्यालयमा पनि छापा मारेको विषयलाई लिएर कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।

यसबारे वरिष्ठ अधिवक्ता थापाले भने, "मैले वर्तमान सरकार गठन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको नियुक्तीलाई लिएर तीव्र विरोध गरेकोले म माथि राजनीतिक प्रतिशोध साँधिएको हो।"

विभागले विगतमा पनि खास गरी विभिन्न व्यवसायिक घरानाहरुले गरेको भनिएको आयकर तथा भ्याट छली प्रकरणलाई अनुसन्धान गरी कतिपय मुद्दालाई टुङ्गोमा पुर्‍याइएको अनि कतिपय अदालतमै कानुनी प्रक्रियामा रहेको बताएको छ।