साफ सेमीफाइनलमा नेपाल र अफगानिस्तान भींड्ने

  • 8 सेप्टेम्बर 2013
नेपाली दर्शक
Image caption दर्शकहरुको हौसलाले जोश बढाएको नेपाली खेलाडिहरुको भनाई छ

काठमाण्डौंको दशरथ रंगशालामा आईतबार नेपाल र अफगानिस्तानबीच आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेल हुँदैछ।

पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने योजनामा रहेको नेपाल र दक्षिण एसियाली फुटबलको नयाँ शक्तिको रुपमा देखापर्दै आएको अफगानिस्तानबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने खेल विश्लेषकहरु ठान्छन्।

टक्कर

एउटा मौकाको सदुपयोग वा एउटा सानो गल्तीले खेलको दृष्य परिवर्तन हुन सक्ने उनीहरु बताउँछन्।

निकै संगठित मानिएको नेपाली टोली समूह चरणको अपराजित श्रृंखला कायम राख्ने रणनीतिमा छ।

दुई गोल गरिसकेका नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङ्ग भन्छन्, "कोचको भनाई अनुसार हामी रक्षात्मक र आक्रामक दुवै रुपले खेल्छौं। यस्तो लाग्छ कि अगाडी गोल हान्यौं भने पछाडी चाहीं पक्कै पनि राम्रो हुन्छ।"

नेपाल र अफगानिस्तान बीचको खेल इतिहासमा नेपाल अगाडी छ।

सन २००३ देखि आमने सामने भएको पाँच भेटमा नेपालले चारमा विजय पाएको छ।

दुई वर्ष अघिको एक मात्र पराजय यसै साफ प्रतियोगितामा भएको थियो जुन जितले अफगानिस्तानलाई फाइनलमा पुर्‍याएको थियो।

विशेषता

अग्ला जीउडालका अफगानी खेलाडीहरुमध्ये कतिपय युरोपमा खेल्छन र उनीहरु लामो पास खेल्न माहिर देखिएका छन्।

नेपाली खेलाडीहरुमा समन्वयात्मक रुपले खेल्ने अर्थात टिमवर्क र छरीतोपना देखिन्छ।

नेपालको कमजोरी मानिने स्ट्राइकरहरुले पनि गोल गरिरहेका छन्।

नेपाली दर्शक खेलाडीहरुलाई उर्जा दिने मुख्य हतियार बन्दै आएको देखिन्छ।

गोल रक्षक विराज महर्जन भन्छन्, "आफैं खेल्दाखेरि आफ्नै साथीहरुले बोलाएको बरु केही सुनिंदैन तर दर्शकहरुको भींडको उल्लास चाहीं भित्री मनसम्मै पुग्छ।"

साफ च्याम्पियनशीप फुटबलको आईतबार साँझ हुने भीडन्त नेपाली खेलाडीहरुको तेजिलो साहसिक खेल तथा लामो पास र एयर बलमा राम्रो मानिने अफगानिस्तानबीचको द्वन्द्व हुने खेलविज्ञहरु बताउँछन्।