अमेरिकी विदेश मन्त्री युरोप भ्रमणमा

  • 8 सेप्टेम्बर 2013
अमेरिकी विदेश मन्त्री जोन केरी
Image caption विदेश मन्त्री केरीले सिरियामा हमलाकालागि समर्थन जुटाउन कोसिस गरिरहेका छन्।

सिरियामा सैनिक हस्तक्षेपको पक्षमा समर्थन जुटाउन युरोपको भ्रमण गरिरहेका अमेरिकी विदेश मन्त्री जोन केरीले पेरिसमा अरब लिगका विदेश मन्त्रीहरुलाई भेटेका छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै केरीले भने, दमास्कसमा गत महिना गरिएको रासायनिक अस्त्र हमलाको जवाफमा सैन्य हमला गर्न समर्थन बढिरहेको छ।

सिरियामा हमला गर्ने विषयमा फ्रान्सले अमेरिकाको समर्थन गरेको छ, तर अन्य युरोपेली मुलुकहरुजस्तै उसले पनि राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुको प्रतिवेदन पर्खन चाहेको छ।

फ्रान्सका विदेशमन्त्री लराँ फेवियससंग एक पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्री केरीले भने, सिरियाले आफ्नै नागरिकहरु विरुद्ध रासायनिक हमला गरेको विषयमा विश्व मूकदर्शक भएर बस्न सक्दैन।

उनले एक दर्जनभन्दा बढी मुलुकहरु सिरिया विरुद्ध सैनिक कारवाहीको पक्षमा रहेको बताए, तर तिनको नाम भने खुलाएनन्।

प्रस्ताव

ब्रिटिश संसदले सिरियामा सैनिक हमला गर्ने एउटा प्रस्तावलाई अस्वीकार गरीदिएपछि अमेरिकालाई खुलेर सघाउन मुलुकको रुपमा अहिले फ्रान्समात्र देखिएको छ।

पेरिसबाट जोन केरी लण्डन आउने कार्यक्रम छ।

लण्डनमा उनले आफ्ना ब्रिटिश समकक्षी विलियम हेग तथा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भेटनेछन्।

अमेरिकाले अगष्ट २१ तारिखमा दमास्कस बाहिर सरकारी सैन्यले गरेका रासायनिक हमलामा महिला तथा केटाकेटी सहित एकहजार चार सय उनन्तिस जनाको ज्यान गएको बताएको छ।

यसअघि लिथुआनियाको राजधानी भिनियसमा आयोजित एक बैठकमा युरोपेली संघका सदस्य मुलुकका विदेश मन्त्रीहरुले सन्दिग्ध रासायनिक हमलाप्रति स्पष्ट एवम् कडा प्रतिकृया जनाउन आह्वान गरेका थिए।

तर उनीहरुले राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुको प्रतिवेदन नआउंदासम्म प्रतीक्षा गर्न फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अल्याण्डले गरेको आह्वानलाई पनि स्वागत गरेका छन्।

गत साता रुसमा सम्पन्न विश्वका प्रमुख आर्थिक शक्तिहरु जी ट्वेन्टीको बैठक पनि सिरियाको विषयमा कुनै सहमतिमा पुग्न असफल भएको थियो।

कारवाही

अमेरिकाले सिरियालाई दण्डित गर्न उ विरुद्ध सैन्य कारवाही गर्नुपर्ने बताउंदै आएको छ भने रुस र चीन त्यस्तो कारवाहीको विपक्षमा छन्।

वाशिङटनस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिकी जनताको समर्थन जुटाउने चुनौती भने राष्ट्रपति ओबामासामु छंदैछ।

पछिल्ला मत सर्वेक्षणहरुले सर्वेक्षणमा सहभागी दशजनामध्ये ६ जना अमेरिकी नागरिकहरु सिरिया विरुद्ध क्षेप्यास्त्र हमलाको विरुद्धमा रहेको देखाएका छन्।

गत मार्च दुईहजार एघारमा राष्ट्रपति असदविरुद्ध जनविद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको विश्वास गरिन्छ।

राष्ट्रसंघीय शरणार्थी संस्था युएनएचसिआरले भनेको छ, बीसलाख भन्दा बढी सिरियालीहरुलाई शरणार्थीकोरुपमा सूचिकृत गरसकिएको छ र थप बयालिस लाखभन्दा बढी सिरियालीहरु देशभित्रै विस्थापित भएका छन्।

राष्ट्रसंघले भनेको छ, सन् १९९४ मा रवाण्डामा भएको जातीय आमनरसंहार यता यो नै सबैभन्दा नराम्रो शरणार्थी संकट हो।