दिल्ली बलात्कारका चार आरोपित दोषी ठहर

  • 10 सेप्टेम्बर 2013
Image caption दोषी ठहर गरिएका चारजनालाई बुधवार सजाय सुनाइने अपेक्षा गरिएको छ

भारतको राजधानी दिल्लीमा गत वर्षको डिसम्बर महिनामा सामुहिक रूपमा बलात्कृत भइ एक विद्यार्थीले ज्यान गुमाएको मुद्धामा चारजना दोषी पाइएका छन्।

उनीहरूलाई बुधवार सजाय सुनाइने अपेक्षा गरिएको छ र अदालतले मृत्युदण्ड दिनसक्ने बताइएको छ।

झण्डै १० महिनअघि सो घटना भएपछि भारतभरी हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए।

तेइस वर्षीय ती युवतीमाथि एउटा बसमा आक्रमण भएको थियो र त्यसको दुई हप्तापछि उनको ज्यान गएको थियो।

सो मुद्धाले गर्दा भारतमा बलातकार र यौन दूराचार विरूद्ध नयाँ कानूनहरू ल्याउनु परेको थियो।

'झुण्ड्याइने छ'

भारतका गृहमन्त्री सुशीलकुमार शिन्डले नयाँ कानूनले त्यस्ता घटना दोहोरिन नदिने विश्वास व्यक्त गरे।

उनले भने, “अब भविष्यमा बलात्कारको घटना भयो भने त्यस्तो अपराधका दोषीहरूलाई निश्चय पनि झुण्ड्याइने छ, कानून त्यती कडा बनाइएको छ।“

डिसम्बर महिनाको घटनामा दोषी पाइएका मुकेश सिं, विनय शर्मा, अक्शय ठाकुर र पवन गुप्ताले उनीहरू विरूद्ध लगाइएको बलात्कार र हत्याका दोषहरू अस्वीकार गरेका छन्।

उनीहरूका वकिलले ती चारैजना पुनरावेदन अदालत जाने बताएका छन्।

न्यायाधीशले उनीहरू दोषी भएका फैसला सुनाएपछि अदालतबाहिर रहेका प्रदर्शनकारीहरूले “दोषीहरूलाई झुण्ड्याउ, दोषीहरूलाई झुण्ड्याउ” भनी नारा लगाएका थिए।

एएफपी समाचार संस्थाका अनुसार न्यायाधीश योगेश खन्नाले सजाय सुनाउँदै भने, “म आरोपित सबैलाई दोषी ठहर गर्दछु। सामुहिक रूपमा बलात्कार, अस्वभाविक आक्रमण, प्रमाण मेटाउने काम र असहाय पीडितको ज्यान लिएको लगायत सबै आरोपमा उनीहरू दोषी पाइएका छन्।“

बीबीसीका दिल्ली संवाददाता सन्जोय मजुम्दार भन्छन् उक्त फैसला अदालतको एउटा स्यानो कोठामा सुनाइएको थियो।

सो कोठामा आरोपित र पीडित दुवै पक्षका परिवार, प्रतिवादीतर्फका वकिलहरू र केही संवाददाताहरू थिए।

रोएका मातापिता

न्यायाधीश खन्नाले सो फैसला पढेर सुनाउँदा ती युवतीका मातापिता रोएका बताइएको छ।

उनीहरू अदालत आउनुअघि प्रार्थनाकालागि एउटा मन्दीर गएका थिए।

ती युवतीका पीताले फैसलापछि भारतीय सन्चार माध्यमसित कुरा गर्दै भने, “हामी यस फैसलाबाट खुशी छौं, अब न्यायाधीशले तीनैजनालाई मृत्यूदण्ड दिन्छन् भन्ने हामीले अपेक्षा गरेका छौं।“

सामुहिक बलात्कारको सो अपराधमा सहभागी भनी दोषी पाइएका एक किशोरलाई एउटा बालसुधार गृहमा तीन वर्ष बिताउनुपर्ने गरी गत अगस्त २१ तरिखको दिन सजाय दिइएको थियो।

सो घटनाका बेला ती किशोर १७ वर्षको रहेको हुँदा त्यो उसलाई दिन सकिने सबैभन्दा बढी सजाय भएको बताइएको छ।

उक्त घटनाका अर्का संदिग्ध, राम सिं गत मार्च महिनामा कारागारमा मृत फेला परेका थिए।

अधिकारीहरूले उनले झुण्डिएर आत्महत्या गरेका बताएका थिए।

तर उनको परिवारजनले उनको हत्या गरिएको आरोप लगाएका छन्।