'सिरियामा दुबै पक्ष युद्ध अपराधमा संलग्न'

  • 11 सेप्टेम्बर 2013
राष्ट्रसंघीय निरीक्षकहरु
Image caption राष्ट्र संघले सिरियाको गृह युद्धमा दुबै पक्षले ज्यादति गरिरहेको जनाएको छ।

सिरियामा मानवअधिकारको स्थितिबारे संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित नयां प्रतिवेदनले त्यहां द्वन्द्वमा संलग्न सबै पक्षले युद्ध अपराध तथा मानवता विरुद्ध अपराध गरिरहेको जनाएको छ।

प्रतिवेदनले भनेको छ, यातना र बलात्कारका घटनाहरु व्यापकरुपमा पाइएको छ र सरकारी सैन्यले ठूलो मात्रामा क्लस्टर बमहरु प्रयोग गरिरहेका छन्। अमेरिकी राष्ट्रपति ओबामाले सिरियामा सैन्य कारवाही गर्ने कि नगर्ने भनि अमेरिकी कङ्ग्रेसमा हुन लागेको मतदान पर सारे लगत्तै सो प्रतिवेदन सार्वजनिक भएको हो।

उक्त प्रतिवेदन तयार पारेका राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले भनेका छन्, उनीहरुसंग युद्ध अपराधमा संलग्न मानिसहरुको लामो सूची छ, जसलाई न्यायको कठघरामा उभ्याउनै पर्दछ।

सिरियामा प्रवेश गर्न अनुमति नदिइएपछि राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले प्रत्यक्षदर्शी तथा भिडियोबाट संकलित बयानको आधारमा उक्त प्रतिवेदन तयार गरेका थिए।

उनीहरुले भूउपग्रहबाट प्राप्त तस्वीरहरुको पनि अध्ययन गरेका थिए।

आरोप

सिरियामा गत महिना सैयौंको ज्यान जाने गरी राजधानी दमस्कस बाहिरको वस्तीमा रासायनिक हमला गरिएको भन्ने आरोपहरुकाबीच राष्ट्रसंघको पछिल्लो प्रतिवेदन आएको हो।

झण्डै अढाइ वर्षअघि राष्ट्रपति असदविरुद्ध जनविद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको विश्वास गरिन्छ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सैन्य कारवाही गर्ने कि नगर्ने भनि अमेरिकी कङ्ग्रेसमा हुन लागेको मतदान पर सारेका छन्।

मँगलबार अबेर देशवासीका नाममा संबोधन गर्दै ओबामाले भने, "सिरियामा हाम्रो आदर्श र सिद्धान्त मात्र हैन, हाम्रो राष्ट्रिय सुरक्षा पनि दाउँमा छ। त्यस्तै सबैभन्दा खराब अस्त्रहरु कहिल्यै पनि प्रयोग नहुन् भनि सुनिश्चित गर्न विश्वमा हामीले गरिरहेको नेतृत्व पनि दाउँमा छ।"

राष्ट्रपति ओबामाले गत महिना एकहजारभन्दा बढी मानिसको ज्यान लिएको भनिएको रासायनिक अस्त्र प्रयोगका लागि सिरियाली सरकार जिम्मेवार रहेको उनले बताए।

उनले रासायनिक अस्त्रको भण्डार नष्ट गर्न सिरियालाई मनाउन रुसी प्रस्तावमाथि काम गर्ने पनि बताए।

विभाजन

सिरियाली रासायनिक अस्त्रलाई अन्तर्राष्ट्रिय नियन्त्रण मातहत राख्ने रुसी प्रस्तावमाथि संयुक्त राष्ट्रसंघमा कूटनीतिक विभाजन देखिएको भोलिपल्ट ओबामाको सम्बोधन आएको हो।

ब्रिटेन, अमेरिका र फ्रान्स एउटा निश्चित कार्यतालिका चाहन्छन् र विफलताका दुष्परिणाम किटान होस् भन्ने चाहन्छन्।

रुसले भने सिरियाली सरकारमाथि दोष लगाइएको कुनै पनि प्रस्ताव आफूलाई स्वीकार्य नहुने बताएको छ।

सिरियाले ती रासायनिक हमलाकालागि आफु जिम्मेवार नरहेको बताउँदै आएको छ।

बरु त्यसकालागि सिरियाली विद्रोहीहरु नै जिम्मेवार रहेको उसले आरोप लगाएको छ।