सर्वदलीय बैठक अघि आ-आफ्नै अडान

  • 12 सेप्टेम्बर 2013

मंसिर पहिलो साताका लागि तोकिएको चुनावको पक्षधर र विपक्षीबीच राष्ट्रपति निवासमा डाकिएको सर्वदलीय भेला अघि दुबै पक्ष आआफ्नो अडानमा देखिन्छन्।

Image caption राष्ट्रपतिले चुनावको विरोध गरिरहेका दलहरुको आग्रह बमोजिम सर्वदलीय बैठक डाकेका हुन्

राष्ट्रपतिले शुक्रबारका लागि डाकेको बैठक आफुहरुले माग गर्दै आए बमोजिमको गोलमेच हुनुपर्ने अपेक्षा नेकपा माओवादीले राखेको छ।

उक्त बैठकमा यस अघि राख्दै आएका अडान राख्ने तयारी माओवादीले गरेको छ।

माओवादीका उपाध्यक्ष देव गुरुङले भने, "हाम्रा अडान यथावत छन्, गोलमेचमा बसेपछि मिलेका कुरामा सहमति गर्ने नमिलेका कुरा लेनदेन गर्ने हो।"

चुनाव पक्षधर एउटा दल नेपाली कांग्रेसले भने बैद्य नेतृत्वको माओवादीलाई चुनावमा ल्याउने प्रयत्नबाट आफुहरु थाकिसकेको बताएको छ।

शंका

मंसिरको चुनावमा होमिइसकेको बताउने गरेका मु्ख्य दलहरु भने शुक्रबार सर्वपक्षीय भेलापछि पनि असन्तुष्ट समूह चुनावमा आउनेमा शंका व्यक्त गर्छन् ।

असन्तुष्ट समूहलाई चुनावको पक्षमा ल्याउन भनेर गरिएका विभिन्न वार्ताहरुमा संलग्न रहँदै आएका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भने, "हामी थाकिसकेका छौं, हरेस खाइसकेका छौं, उहाँहरु चुनावमा आउन तयार देखिनुहुन्न।"

असन्तुष्ट पक्षले भने झैं अब नयाँ चुनावको मिति खोज्ने, संविधानका अन्तर्वस्तु मिलाउने, सरकार परिवर्तन गर्ने जस्ता काम गर्दा चुनाव पछाडि धकेलिने धारणा रिजालको छ।

माओवादी उपाध्यक्ष गुरुङले मंसिर वा त्यसपछि हुन सक्ने कुनै पनि चुनावमा भाग लिने लिखित प्रतिबद्धताको संभावना अस्वीकार गरे।

उनले भने, "दलहरुबीच हुने सहमतिमा मात्र हस्ताक्षर हुन्छ, यो वा त्यो चुनावको पक्षमा खाली पानामा हस्ताक्षर गर्नु संझौता हुन सक्दैन, त्यो त आत्मसमर्पणवाद हो।"

विफल

यस अघि चार राजनीतिक समूहले असन्तुष्ट मोर्चाका तर्फबाट राखिएको निर्वाचनको मिति, सरकार गठन, संविधानको अन्तर्वस्तु लगायतको पाँचबुँदे प्रस्ताव अस्वीकार गरेपछि दलहरुबीच सर्वपक्षीय भेला गर्ने प्रयत्न विफल भएको थियो।

त्यसपछि उक्त समूहले राष्ट्रपतिसमक्ष गोलमेच सम्मेलनको संयोजन गरिदिन लिखित आग्रह गरेको थियो।

यस अघि प्रमुख दलहरुबीचको तिक्तताबीच पनि संयोजनकारी भूमिका खेलेर चुनावी सरकार गठन गर्ने वातावरण बनाउन सफल भएका राष्ट्रपतिले यसपटक चुनावको विपक्षमा रहेको समूहको आग्रह बमोजिम बैठक डाकेका हुन्।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, तर आ-आफ्ना अडान सहित वार्तामा जान लागेका दलहरुबीच तत्काल सहमति बन्न कठिन देखिन्छ।