भारतमा सामूहिक बलात्कारका दोषीलाई मृत्युदण्ड

  • 13 सेप्टेम्बर 2013
Image caption दिल्लीको साकेत अदालतले चारजना बलात्कारीलाई मृत्युदण्डको सजाय सुनाएको छ

भारतको एउटा अदालतले राजधानी नयाँ दिल्लीमा गत वर्ष एक जना कलेज पढ्ने छात्राको सामूहिक बलात्कारमा दोषी पाइएका ४ जनालाई मृत्युदण्डको सजाय दिएको छ।

यसै साताको शुरुमा आरोपितहरु मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई अदालतले दोषी ठहर गरेको थियो।

फैसला सुनाउँदै साकेतस्थित अदालतका न्यायधीश योगेश खन्नाले त्यो बलात्कारको घटना अत्यन्त दुर्लभ प्रकृतिको भएको बताए।

गत डिसेम्बर महिनामा २३ वर्षीय ती युवतीलाई गुडिरहेको बसमा बलात्कार गरिएको थियो र त्यसको दुई हप्ता पछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

नयाँ कानुन

भारतभर व्यापक प्रदर्शनहरु निम्त्याएको सो घटना पछि बलात्कार विरुद्ध नयाँ कानूनहरु ल्याइएको थियो।

न्यायधीश खन्नाले सम्पूर्ण भारतको चेतनालाई स्तब्ध तुल्याएको उक्त अपराधप्रति अदालतले आखाँ चिम्लन नमिल्ने उल्लेख गरे ।

आदेश सुनेपछि एक जना दोषी विनय शर्मा अदालतमै रोएका थिए।

फैसला सुनाइनुअघि अदालत बाहिर जम्मा भएका प्रदर्शनकारीहरुले अभियुक्तहरुलाई फाँसी दिइनुपर्ने माग गरेका थिए।

पीडित परिवारले अदालतको आदेशप्रति सन्तुष्टि व्यक्त गरेको छ।

सन्चारमाध्यमहरुले दामिनी वा निर्भया पनि भनेका मृतक छात्राकी आमाले भनिन्, "भारतमा परिवर्तन आइरहेको छ जस्तो त मलाई लाग्दैन, तर सानो केही झलक देखिन्छ।"

बलात्कृत

भारतमा प्रत्येक बीस मिनटमा एकजना महिला बलात्कृत हुने गरेको बताइन्छ।

सन् दुई हजार एघारमा मात्रै देशभरि बलात्कारका चौबीसहजार भन्दा बढी घटनाहरु सार्वजनिक भएका थिए।

दिल्लीलाई त कतिपयले बलात्कारको राजधानी पनि भन्ने गरेका छन्।

भारत सरकारले गत अप्रिल महिनामा महिला विरुद्धका हिंसा रोक्न कडा कानुनहरु ल्याएको थियो।

तर अधिकारकर्मीहरु भन्छन्, त्यस्तेा हिंसा रोक्न कानुनले मात्रै हुँदैन, मानिसहरुको धारणामा नै परिवर्तत ल्याउनुपर्दछ।

सम्बन्धित समाचार