सिरियाबारे अमेरिका र रुस छलफलमा

  • 13 सेप्टेम्बर 2013
un
Image caption रासयनिक अस्त्र अभिसन्धिमा आवद्ध हुने औपचारिक सिरियाली पत्र राष्ट्रसंघले पाएको छ

सिरियाका रासयनिक अस्त्रहरु अन्तर्राष्ट्रिय नियन्त्रण मातहत राख्ने योजनाबारे संयुक्त राज्य अमेरिका र रुसका विदेशमन्त्रीहरुबीच जेनेभामा महत्वपूर्ण छलफल शुरु भएको छ।

उनीहरु दुवै जनाले उक्त योजनाले सिरियामाथिको सम्भावित सैन्य कारवाही रोक्न सक्ने विश्वास लिएका छन्।

अनावश्यक

छलफल शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भने,"रासयनिक अस्त्रसम्बन्धी प्रस्तावले सिरियामाथि हुने भनिएको अमेरिकी सैन्य हमलालाई अनावश्यक बनाइदिनेछ।"

उनले सैन्य रुपमा आमनेसामने आउनुभन्दा परका उपायहरुमा जानुपर्ने बताए र यो वार्ता सफल भए फेरि अर्को चरणको वार्ता हुन सक्ने जनाए।

कूटनीति

अमेरिकी विदेशमन्त्री जन केरीले भने बल प्रयोगको चेतावनीले सिरियालाई रासयनियक अस्त्र त्याग्न दबाब दिएको टिप्पणी गरे तर उनले कूटनीतिबाट सैन्य कारवाही रोक्न सकिने बताए।

उनले भने,"यो कुनै खेल होइन। सिरियाले रासयनियक अस्त्र त्याग्ने कुरा बृहत, विश्वसनीय र समयमै कार्यान्वयन हुने खालको हुनुपर्छ।"

पत्र

संयुक्त राष्ट्रसंघले रासयनिक अस्त्र नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय सन्धिमा आफू पनि सहभागी हुने मनसायसहितको सिरियाली सरकारको औपचारिक पत्र पाएको पुष्टि गरेको छ।

यसलाई रुसी योजनामा महत्वपूर्ण कदम ठानिएको छ।

उक्त योजना अनुसार हस्ताक्षर भएको एक महिनाभित्र अस्त्रसम्बन्धी विवरण बुझाउने सिरियाका राष्ट्रपतिले बताएका छन्।