जाजरकोटमा लुकाएर राखिएका हातहतियार बरामद

  • 15 सेप्टेम्बर 2013
माओवादी लडाकुहरु (फाइल फोटो)
Image caption दश बर्षे द्वन्द्वमा हजारौं नेपालीको ज्यान गएको थियो

मध्यपश्चिम नेपालको जाजरकोटमा ठूलो परिमाणमा लुकाएर राखिएका हातहतियार प्रहरीले फेला पारेको छ।

गाडिएको अवस्थामा भेटीएका ती हतियार कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सदरमुकाम खलंगाको वडा नम्बर ८ स्थित रानीबन जंगलमा आइतबार फेला पारेका हतियारहरुमा ४४ वटा थ्रीनट थ्री राईफल र एउटा टू इन्च मोर्टार रहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर सिंहले बताए।

“विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाएर खोजतलास गर्दा ती हतियारहरु फेला परेका हुन्,” उनले भने।

हातहतियार

गाडिएको लामो समय भएको जस्ता देखिने ती हातहतियार अझै प्रयोगमा आउने अवस्थामा रहेको प्रहरी प्रमुख सिहंले बताए।

“ती हतियारहरु लामो समयसम्म सरसफाई नहुदा पनि प्रयोगमा ल्याउन सकिन्छ। यी हतियार एसएलआर जस्तो तुरुन्तका तुरुन्तै सफाई गर्नु पर्दैन,” उनले भने।

सिंहले हतियार कसले लुकाएर राखेको भन्ने बारेमा अनभिज्ञता जनाउँदै उनले यसबारेमा अनुसन्धान भइरहेको बताए।

आशङ्का

केही स्थानीय मानिसहरुले भने ती हतियार द्वन्द्वको बेलामा तत्कालिन विद्रोही माओवादीले लुकाएको हुन सक्ने आशंका गरेका छन्।

उनीहरुले हतियार फेला परेको उक्त ठाँउ नजिकै पुर्नस्थापना गर्न खोजिएको प्रहरी चौकी युध्दबिराम पछी पनि तत्कालिन माओवादीहरुले राख्न नदिएको बताए।

शन्ति सम्झौता पछि क्यान्टोनमेन्टमा हतियार जम्मा गर्दा प्रहरी र सेनाबाट खोसिकाए मध्ये केही हतियार बगेर र डढेर गएको प्रतिक्रिया माओवादी नेताहरुले दिएका थिए।

विसं २०५२ देखि दश बर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा झण्डै सोह्रहजार जनाको ज्यान गएको अनुमान गरिन्छ।

एकीकृत माओवादीबाट फुटेर गएको नेकपा माओवादीले फेरि विद्रोह गर्नसक्ने चेतावनी दिइरहेका बेला हातहतियार फेला परेको पछिल्लो घटनालाई महत्वकासाथ हेरिएको छ।