'लोडशेडिंग दैनिक ६ घण्टाभन्दा बढी हुने'

  • 15 सेप्टेम्बर 2013
पश्चिम सेती नदी
Image caption जाडोयाममा नेपालका नदीमा जलप्रवाह घट्ने हुँदा जलविद्युत उत्पादनमा कमी आउने गरेको छ

आईतबारदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणले लोडशेडिंगको समय बढाएर हप्ताको ४६ घण्टा पुर्‍याएको छ।

शनिबारसम्म उसले हप्ताको २७ घण्टा लोडशेडिंग गरिरहेको बताएको थियो।

प्राधिकरणका प्रवक्ताका अनुसार यसपालीको हिउँदमा पोहोरभन्दा बढी लोडशेडिंग हुने सम्भावना छ।

माग र आपूर्ति

जाडोयाममा विद्युतको माग अत्याधिक बढ्ने तर आपूर्ती भने त्यसको आधा पनि पुर्‍याउन सक्ने अवस्था नरहेकाले अवस्था खराब हुने प्राधिकरणले जनाएको छ।

हाल १०४३ मेगावाट विद्युत माग भएकोमा ५४९ मेगावाट मात्रै आपूर्ती गर्न सकिएको विद्युत प्राधिकरणको भनाई छ।

पुस, माघमा विद्युतको माग बढेर १२७१ मेगावाट पुग्ने तर आपूर्ती भने त्यसको आधाभन्दा निकै कम हुने भएकाले पोहोरभन्दा यो वर्ष लोडशेडिंग बढ्ने प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले बताए।

“यसपाली दैनिक चौध घण्टा सम्म लोडशेडिंग हुन सक्छ किनभने हिउँदमा हाम्रो आपूर्ति पौने ६ सय मेगावाटको आसपासमा मात्र हुने देखिन्छ,” उनले भने।

उपाय

पोहोर सरकारले लोडशेडिंगलाई दैनिक १२ घण्टामा सीमित राख्ने लक्ष लिएको भए पनि, त्यो १४ घण्टा सम्म पुगेको थियो।

यसपालीको हिउँदमा दैनिक १४ घण्टा लोडशेडिंग हुन सक्ने भनिएको छ। त्यो पनि बढ्ने जलविद्युत सम्बन्धी एक जना अध्येता रत्नसंसार श्रेष्ठले दाबी गरे।

लोडशेडिंगलाई घटाउने उपाय कार्यान्वयन हुनुपर्ने भन्दै उनले केही सुझाव प्रस्तुत गरेका छन्।

“हामीकहाँ दुई वर्ष भित्र निर्माण गर्न सकिने जलविद्युत आयोजनाहरु थुप्रै छन्। तिनको विद्युत खरीद सम्झौता गरिदिए यसपालीको हिउँदमा नघटेपनि अर्को वर्षको हिउँदमा लोडशेडिंग तात्विक रुपमा घटाउन सकिन्छ,” श्रेष्ठले बताए।

प्रत्येक वर्ष हिउँद शुरु हुन लागेपछि लोडशेडिंग घटाउने चर्का कुरा सरकारमा बस्नेहरुले गर्ने भए पनि लोडशेडिंगको समय सालिन्दा घट्नुको साटो बढ्दै गएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।