'वैद्यसँग कुरा नमिले संविधान संशोधनको बाटोमा लाग्ने'

  • 16 सेप्टेम्बर 2013
नेकपा माओवादीका नेताहरु
Image caption प्रधानन्यायाधीश पदबाट रेग्मीको राजीनामालाई वैद्य माओवादीले आफ्नो बटमलाइन बताएको छ

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने विषयमा कुरो अड्किएपछि, सरकार समर्थक दलहरु र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी बीच सोमबार अन्तिम भनिएको वार्ता हुँदैछ।

सोमबारको वार्ताले निकास नदिए सरकार समर्थक दलहरु संविधान संशोधन गरेर मंसिरकै निर्वाचनको लागि अगाडि बढ्ने एमालेका एक नेताले बताएका छन्।

शीतल निवासमा आईतबार राती अबेर सम्म बसेको सर्वपक्षीय बैठक विफल भएपछि सोमबार पुन: उनीहरु वार्तामा वस्ने भएका हुन्।

बटमलाइन

वैद्य माओवादीले गोलमेच सम्मेलन, चैतमा चुनाव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा र सहमतिको नयाँ सरकार बनाउने चार बुँदे प्रस्तावमा राती अबेर सम्म शितल निवासमा छलफल गर्दा पनि निकास ननिस्किएपछि सोमबार अन्तिम भनिएको वार्ताबाट समाधान निकाल्ने प्रयासमा दलहरु जुट्दैछन्।

अन्य बुँदामा दुवै पक्ष लचिलो भए पनि प्रधानन्यायाधीशको पदबाट राजीनामाको बुँदामा भने कुरा मिल्न नसकेको र त्यसलाई छोड्न नसकिने नेकपा-माओवादीका सचिव देव गुरुङको भनाई छ।

उनी भन्छन्, "प्रधानन्यायाधीशको राजिनामा नै हाम्रो बटमलाइन हो। समस्याको प्रश्न नै त्यहींबाट शुरु भएको हुनाले त्यसलाई छोड्न सकिन्छ जस्तो लाग्दैन। उहाँले मान्नु भएन भने समस्याको केन्द्र विन्दु कहाँ रहेछ भन्ने कुरा उजागर हुन्छ।"

सजिलो छैन

रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने विषय चार दलको हातमा नभएकोले वैद्य माओवादीले यसैमा अडान राखिरहे मंसिर ४ रको निर्वाचनका लागि संविधान संशोधन तिर लाग्ने नेकपा एमालेका नेता अग्नि खरेलले बताए।

उनी भन्छन्, "चार राजनीतिक दलले हिजो रेग्मीलाई प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनाएको हुनाले राजीनामाको विषय त्यति सजिलो हुँदैन। यदी उहाँले राजीनामा दिनु भएन र वैद्य माओवादीले यसलाई नमाने उपेन्द्र यादव र अशोक राईसँग भएका सहमति अनुसार संविधान संशोधनको कुरालाई टुङ्गो लगाइन्छ।"

निस्कर्ष निकाल्न ढिलाई हुँदै गर्दा वैद्य माओवादीलाई छोडेर नै चुनावमा जानु पर्ने वा मंसिर ४ को निर्वाचन सार्नु पर्ने मध्ये एउटा विकल्प रोज्न दलहरु वाध्य हुने कतिपयको विश्लेषण छ।