राष्टू संघमा कडा प्रस्ताव ल्याउने तयारी

  • 16 सेप्टेम्बर 2013
पश्चिमा नेताहरु
Image caption अमेरिका, फ्रान्स र ब्रिटेन सुरक्षा परिषदमा कडा प्रस्ताव ल्याउन चाहन्छन्

फ्रान्स, ब्रिटेन र संयुक्त राज्य अमेरिकाले भनेका छन्, उनीहरु यदि सिरियाले उसको रासायनिक हातहतियार हटाउन आनाकानी गरेमा उसले गम्भीर परिणाम भोग्नु पर्ने सम्बन्धी एउटा कडा प्रस्ताव संयुक्त राष्ट्र संघमा ल्याउन चाहन्छन्।

पेरिसमा वार्ता पछि बोल्दै तीन वटै मुलुकका विदेश मन्त्रीहरुले भने, उक्त प्रस्तावनमा रासायनिक हातहतियार हटाउन स्पष्ट र वाध्यात्मक मिति तोकिनुपर्दछ।

अमेरिकी विदेश मन्त्री जोन केरीले सिरिया उक्त प्रस्तावमा सहमत नभएमा उसले त्यसको नतीजा व्यहोर्नु पर्ने कुरामा रुसपनि सहमत भएको बताए।

दबाब

विदेश मन्त्रीहरु सिरियाली द्वन्द्वको समाधान खोज्न एउटा नयाँ शान्ति सम्झौताकालागि दबाब दिन तथा सिरियाली विपक्षलाई उनीहरुको सहयोग बढाउन पनि सहमत भएका छन्।

अमेरिकी तथा रुसी विदेश मन्त्रीहरुबीच भएको वार्ता पछि सिरिया उसंग रहेको रासायनिक हातहतियारको पूर्ण विवरण एक साताभित्र दिन तथा सन् २०१४ को अन्त्य सम्ममा सबै रासायनिक हतियार हटाउन सहमत भएको थियो।

सिरियाको रासायनिक अस्त्र हटाउने संबन्धमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले छिटै एउटा मस्यौदा प्रस्ताव तयार गर्ने अपेक्षा गरिएको छ।

फ्रान्सका विदेश मन्त्री लराँ फेबियसले भने, "आउंदा केही दिनभित्र हामी राष्ट्रसंघ सुरक्षा परिषदबाट रासायनिक निशस्त्रीकरणकालागि स्पष्ट परिणाम सहित र अगष्ट २१ तारिखको आम नरसंहार गराउनेहरुलाई जवाफदेही तुल्याउने हिसाबले प्रस्ताव ल्याउन चाहन्छौं।"

अमेरिकाले अगष्ट २१ तारिखमा दमास्कस बाहिर महिला तथा केटाकेटी सहित सैयौंको ज्यान जानेगरी गरिएको विषालु ग्याँस हमलाकालागि सिरियाली सत्ता जिम्मेवार रहेका आरोप लगाएको छ।

खण्डन

तर सिरियाले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

रासायनिक हमलाकालागि सिरियालाई जिम्मेवार ठहराउँदै अमेरिकाले सैन्य हमला गर्ने चेतावनी दिएपछि सिरियाले विश्वव्यापी रासायनिक अस्त्र नियन्त्रण महासन्धिमा सामेल हुने सहमति जनाएको छ।

आगामी अक्टोबर १४ देखि उक्त महासन्धीका प्रावधानहरु सिरियामाथि लागु हुने राष्ट्रसंघले बताएको छ।

झण्डै अढाइ वर्षअघि राष्ट्रपति असदविरुद्ध जनविद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको विश्वास गरिन्छ।