असन्तुष्ट माओवादीसंगको वार्ता पुन: विफल

  • 16 सेप्टेम्बर 2013
मोहन वैद्य
Image caption नेकपा माओवादी सहितको मोर्चालाई मनाउने प्रयास विफल भएको छ

नेकपा माओवादीले चुनावको मितिबारे लचिलो हुन सकिने बताएको भए पनि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा दिने विषयमा दुई पक्षबीच मत नमिलेपछि बैठक अनिर्णित भएको बताइएको छ।

उनीहरुबीच सहमति जुट्न नसकेपछि दुबै पक्ष बैठकबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।

नयाँ बानेश्वरस्थित उच्चस्तरीय राजनीतिक समितिको कार्यालयमा घन्टौंसम्म बसेको बैठकमा चुनाव चैतमा हुनुपर्ने पहिलाको अडानमा नेकपा माओवादी केही लचिलो देखिएको थियो।

तर रेग्मीको राजीनामाबारे पहिलाको निर्णयबाट नेकपा माओवादी पछि नहटेपछि समितिसँगको बैठक निश्कर्षमा पुग्न नसकेको हो।

अडान

नेकपा माओवादीका नेता देव गुरुङले अब आफूहरुले थप सम्झौता गर्न नसक्ने बताए।

उनले भने, “मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने भन्ने हाम्रो मागबारे उहाँहरुले मत मिलाउन सक्नु भएन, त्यसैले वार्ता विफल भयो।”

बैठकपछि उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलका नेताहरु नेकपा माओवादी पूर्ववत् शर्तबाट टसको मस नभएको भन्दै निराश सुनिएका थिए।

बैठकका एकजना सहभागी तथा एमाले नेता रघुजी पन्तले मुख्य दलहरुले चुनाव मंसिरबाट पछि सार्न नसकिने अडान राखेको बताए।

उनले भने, “उहाँहरुले आफ्नो अडान छोड्नु भएन, मंसिरको चुनाव सार्न सकिँदैन।”

विफल

सहमति जुट्न नसकेपछि बैठकबारे जानकारी गराउन दुबै पक्षका नेताहरु राष्ट्रपति निवास शितल निवास पुगेका थिए।

पटक पटकको प्रयासपछि पनि सहमति जुटाउन विफल उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको ३३ दलीय भनिएको मोर्चालाई सर्वपक्षीय भेलामा सहभागी हुन राष्ट्रपतिले आह्वान गरेका थिए।

दुबै पक्षले विभिन्न चरणका छलफलमा सहमतिको खोजी गरेपनि त्यो असंभव देखिदा चुनावको बाटो थप कठिन हुने चिन्ता बढेको छ।