मिति सार्न कठिन: निर्वाचन आयोग

  • 18 सेप्टेम्बर 2013
Image caption निर्वाचन आयोगले मनोनयन दर्ताको मिति सार्न कठिन हुने बताएको छ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनमा भाग लिने दलहरुको मनोनयनको मिति पछाडी सार्दा अन्य कार्यतालिकाहरु प्रभावित हुने भएकोले त्यसो गर्न कठिन हुने निर्वाचन आयोगका एक जना आयुक्तले बताएका छन्।

उच्चस्तरीय राजनीतिक समितिले असुन्तष्ट दलहरुलाई चुनावमा ल्याउने प्रयास पनि जारी रहेको भन्दै मनोनयनको मिति साता दश दिन सार्न आग्रह गरेको भोलिपल्ट आयोगको यस्तो भनाइ आएको छ।

कठिन

निर्वाचन आयोगको पुर्व निर्धारीत कार्य तालिका अनुसार आगामी ७ गते समानुपातिक र १० गते प्रत्यक्ष तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुले आयोगमा मनोनयन दर्ता गर्नुपर्नेछ।

तर उच्चस्तरीय राजनीतिक समितिले त्यो मिति सार्न आग्रह गरेपछि कार्यतालिका प्रभावित हुनेमा आयोग चिन्तित भएको हो।

आयोगका एक जना आयुक्त अयोधी प्रसाद यादव भन्छन्, "कार्यतालिका अनुसार हामी धेरै अगाडी बढीसकेका छौं। अब यसलाई परिमार्जन गर्दा अप्ठ्यारो हुन्छ। उहाँहरुको माग अनुसार मनोनयनको कार्यतालिकामा परिवर्तन गर्न सक्ने अवस्था देखिदैन।"

आग्रह

असन्तुष्ट दलहरुसँग पनि निरन्तर छलफल र संवादमा रहनु पर्ने भएकाले मनोनयनको मिति सार्न आफूहरुले आयोगलाई आग्रह गरेको मुख्य दलले बताएका छन्।

नेकपा एमालेका एकजना नेता अग्नी खरेल भन्छन्, "वैद्यजीले हिड्ने बेलामा छलफलहरु त जारी राख्नु पर्छ भन्ने प्रश्न उठाईरहनु भएको थियो। यदि मनोनयन गर्ने मितिलाई साता दश दिन पछाडी सारीयो भने उहाँहरुले त्यो समयलाई सदुपयोग गर्नु हुन्छ र निर्वाचनको प्रकियामा आउनु हुन्छ भन्ने कुरालाई विश्वास गरेर त्यो अनुरोध गरेको हो।"

यसरी विभिन्न वहानामा मिति सार्दै गए निर्धारीत मितिमा निर्वाचन सम्पन्न गराउन झन झन अप्ठ्यारो पर्ने आयोगले जनाएको छ।