उम्मेदवार मनोनयनबारे दलहरुभित्र तीव्र विवाद

  • 18 सेप्टेम्बर 2013
कांग्रेसका नेताहरु
Image caption कांग्रेसले पार्टी नेतृत्वमा रहेको किचलोका कारण उम्मेदवार छनौट गर्ने बोर्ड समेत गठन गर्न सकेको छैन

निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्न दिएको समयसीमा सकिन एक सातामात्रै बाँकी रहँदा दलहरुभित्र भने टिकटका लागि हानाथाप चलिरहेको छ।

म्याद थप गर्ने वा नगर्ने भन्नेबारे निर्वाचन आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

जुनसुकै हालतमा घोषित मितिमा चुनाव गर्ने बताएको सरकारले बुधबार, मंसिर ४ को मिति प्रभावित नहुने गरी उम्मेदवारी मनोनयनको समयसीमा थप्न निर्वाचन आयोगलाई आग्रह गरेको हो।

मुख्य दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले अर्को हप्ताको मनोनयनको मिति सार्न निर्वाचन आयोगसँग आग्रह गरेको भोलिपल्टै सरकारको निर्णय आएको हो।

आग्रह

सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चार मन्त्री माधव पौडेलले मनोनयन पत्र दाखिला गर्ने समयसीमा थप गर्दैमा मंसिर ४ गतेको निर्वाचनमा कुनै असर नपर्ने बताए।

"चुनावलाई कुनै असर नपर्ने गरी दलहरुबाट पेश हुनुपर्ने समानुपातिकको बन्द सूचीको नामावली र उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने मिति सम्भव हुन्छ भने केही दिन पर सार्न निर्वाचन आयोगलाई अनुरोध गरेका छौं," पौडेलले भने।

निर्वाचन आयोगको अहिलेको कार्यतालिका अनुसार समानुपातिक प्रणाली अन्तर्गत चुनाव लड्न दलहरुले असोज ७ गतेभित्र १० हजार रुपैयाँको धरौटी सहित निवेदन दर्ता गराउनुपर्ने छ।

असोज १० गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गराउने र ११ गते समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने समय तोकिएको छ।

मंसिर ४ को चुनाव प्रति प्रतिबद्ध रहेको बताउँदै आएका मुख्य दलहरु उम्मेदवार छनौटमा भने विलम्ब गरिरहेका छन्।

विलम्ब

करीब दुई हजार भन्दा बढी आकाँक्षी रहेको र विशेष गरी मधेशका कतिपय क्षेत्रमा गुटगत हिसावमा दोहोरो सूची समेत सिफारिस गरिएकाले उम्वेदवारको अन्तिम सूची तयार गर्न एकीकृत माओवादीलाई समस्या भैरहेको बुझिएको छ।

तर एकीकृत माओवादीको उम्मेदवार छनौट समितिका सदस्य प्रभु साहले त्यस्तो विवाद नभएको बताए।

उनले भने, "देशकै अन्यौलताले मात्रै ढिला भईरहेको हो, अब पहिला प्रत्यक्ष अनि समानुपातिक टुंग्याउने भन्ने हाम्रो छलफल भइरहेको छ।"

नेपाली काँग्रेसले पार्टी नेतृत्वमा रहेको किचलोका कारण उम्मेदवार छनौट गर्ने बोर्ड समेत गठन गर्न सकेको छैन।

उम्मेदवार छनौटको लागि नेकपा एमाले बैठकमै व्यस्त छ।

जसरी पनि चुनाव घोषित मितिमै गर्नुपर्छ भन्ने सरकारपक्षीय दलहरु पार्टीको आन्तरिक गृहकार्यमा भने सुस्त देखिएका छन्।