‘विद्रोहीले रासायनिक हतियार प्रयोग गरेको प्रमाण’

  • 18 सेप्टेम्बर 2013
Image caption राष्ट्रसंघीय निरिक्षकहरूले रासायनिक हतियारबारे बुझाएका प्रतिवेदनले रूसलाई असन्तुष्ट बनाएको छ

एक रूसी मन्त्रीले सिरियाका विद्रोहीहरूले अगस्ट २१ तारिखको दिन राजधानी दमास्कसको बाहिरी भागमा रासायनिक हतियार प्रयोग गरेका भन्ने नयाँ प्रमाण सिरियाली सरकारले प्रदान गरेको बताएका छन्।

रूसका उपविदेश मन्त्री सर्जेइ –याकबोभले सिरियामा रासायनिक हतियारको प्रयोगबारे राष्ट्रसंघका निरिक्षकहरूले बुझाएका प्रतिवेदन राजनीतिक रूपमा प्रेरित र एकतर्फी भएको पनि जनाएका छन्।

उनले ती निरिक्षकहरूले गौटा भन्ने ठाउँमा अगस्ट २१ तारिखको दिन भएको आक्रमणको मात्र अनुसन्धान गरेका तर त्यस अघि भएका तीन घटनाहरूबारे केही जाँझबुझ नगरेका बताए।

“कडा शब्द प्रयोग नगरी बोल्ने हो भने राष्ट्रसंघको सचिवालय र हतियार निरिक्षकहरूले जुन शैलीमा काम गरे त्यसबाट हामी असन्तुष्ट छौं किनभने तीनले अपूर्ण र आफूले चाहेको तरिकाले त्यो प्रतिवेदन तयार पारेका छन्।“

राष्ट्रसंघीय निरिक्षकहरूले गौटामा घातक ग्याँस सारिन प्रयोग भएको पाएका थिए।

आरोप

सो प्रतिवेदनले आक्रमण कसले गरेको थियो भन्नेबारे केही जनाएको थिएन तर पश्चिमा सरकारहरूले त्यस्तो हतियारको प्रयोग राष्ट्रपति बशर अल अस्‌साडको सरकारको सैन्यबलले गरेको आरोप लगाएका छन्।

रूसको समर्थन पाएको दमास्कसले सो आक्रमणको दोष विपक्षीहरूमाथि लगाएको छ।

राष्ट्रसंघले उसका हतियार निरिक्षकहरू अनुसन्धान पुरा गर्न केही हप्ताभित्र सिरिया फर्कने जनाएको छ।

त्यसको प्रतिवेदन अक्टोबर महिनामा सार्वजनिक गरिने बताइएको छ।

मस्कोस्थित बीबीसी संवाददाता डानियल स्यान्फोर्डले जनाए अनुसार रूसले सिरियालाई उसको रासायनिक हतियारका विवरणहरू सार्वजनिक गर्न र तीनलाई निष्क्रिय बनाउन मनाएकोमा सिरियाली सरकारले त्यसो गर्छ वा गर्दैन भन्नेमा अहिले धेरैको ध्यान छ।

त्यो काम गर्न सिरियालाई एक हप्ताको समयसीमा दिइएको थियो जुन आउँदो शनिवार समाप्त हुँदैछ।

यदी समयसीमाभित्र सिरियाले उक्त काम गरेन भने सो देशको इमान्दारीप्रति शंका बढ्ने र मस्कोको विश्वस्नीयता घट्ने विश्लेषकहरू बताउँछन्।