इजिप्टको सेनाद्वारा मोर्सी समर्थित शहरमा कारवाही

  • 19 सेप्टेम्बर 2013
Image caption केदरासामा भएको गोली हानाहानमा एक वरिष्ठ प्रहरी अधिकृत मारिएका छन्

इजिप्टको राजधानी कायरोको बाहिरी भागमा सुरक्षाबल र अज्ञात बन्दुकधारीहरूबीच गोली हानाहान भइरहेको छ।

केदरासा भन्ने सो ठाउँ विपक्षी मुसलिम ब्रदरहुडको पकडक्षेत्र रहेको छ।

एक वरिष्ठ प्रहरी अधिकृत जनरल नाबील फराग मारिएका छन्।

राज्यद्वारा सन्चालित टेलिभिजनले कम्तिमा २८ संदिग्ध उग्रवादीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।

'सुरक्षा कारवाही'

सरकारी सुरक्षाबलले तीनकै शब्दमा अपराधी र आतंककारीहरु सक्रिय रहेका ठाउँहरुलाई लक्षित गरी शुरू गरिएको सुरक्षा कारवाहीको यो एक हिस्सा भएको बताएका छन्।

तर पछिल्लो कारवाही शुरू भएको कयौं घण्टा बितिसक्दा पनि सुरक्षाकर्मीहरूले गोली प्रहारबाट आफूहरूलाई सुरक्षित राख्‍नु परेको छ।

गत महिना केदरासा भन्ने ठाउँमा एक पहरी चौकीमा ११ प्रहरी अधिकृत मारिएका थिए।

सो घटना इस्लामी राष्ट्रपति मोहम्मद मोर्सी बर्खास्त गरिएका केही हप्तापछि भएको थियो।

कायरोमा भइरहेको लडाईंमा अज्ञात बन्दुकधारीहरू शहरका कयौं भवनहरूमा रहेका र तीनले त्यहींबाट गोली प्रहार गरीरहेका घटनास्थलमा रहेका बीबीसी संवाददाता क्वेन्टीन सोमर्भिलले जनाएका छन्।

उनका अनुसार त्यसैले सुरक्षाकर्मीहरूलाई सुरक्षित ठाउँ खोज्नु परिरहेको छ।

बर्खास्त गरिएका राष्ट्रपति मोर्सीको राजनीतिक संगठन मुस्लीम ब्रदरहुडका सदस्यहरू खोज्दै त्यसअघि सुरक्षाकर्मीहरू केदरासामा मानिसहरूको घरघरमा पसेका स्थानीयबासिन्दाहरुले बताएका छन्।

बुधवार सो ठाउँमा मोर्सीको समर्थनमा निकालिएको –यालीमा हजारौं मानिसले भाग लिएका थिए।

उनीहरूले त्यसक्रममा इजिप्टका सेना प्रमुखको विरोध गर्दै नाराबाजी गरेका थिए।