तालिबान नेताको ‘रिहाइ’ को अफ्गान सरकारद्वारा स्वागत

  • 21 सेप्टेम्बर 2013
Image caption मुल्लाह बारादरले तीनजनासित मिलेर सन् १९९४ मा अफ्गानिस्तानमा तालिबान विद्रोह शुरू गरेका थिए

बन्दी बनाइ राखिएका अफ्गानी तालिबानका सबैभन्दा उच्च तहका नेतालाई पाकिस्तानले रिहा गरेको समाचारको अफ्गान सरकारले स्वागत गरको छ।

पाकिस्तानी अधिकारीहरूले मुल्लाह अब्दुल गानी बरादारको रिहाइको समाचार सार्वजनिक गरे पनि त्यसको आधिकारिक रूपमा पुष्टी भएको छैन।

पाकिस्तानी कारागारबाट मुक्त गरिएको भनिएका उनी अफ्गान तालिबानका सहसंस्थापक हुन्।

उनले अन्य तीनजनासित मिलेर सन् १९९४ मा अफ्गानिस्तानमा तालिबान विद्रोह शुरू गरेका थिए।

उनले तालिबान सरकारको पतन हुनअघिसम्म कयौं वरिष्ठ पद सम्हालेका थिए।

त्यसपछि उनी भागेर पाकिस्तान पुगेका थिए।

सैन्य कमाण्डर

त्यहाँ तालिबानले अफ्गानिस्तानमा गुरिल्ला लडाईं लड्न पुनर्संगठन गरिरहँदा उनले सो विद्रोही समुहको सैन्य कमाणडरका रूपमा काम गरेका थिए।

उनलाई पाकिस्तानको कराची शहरमा सन् २०१० मा पक्राउ गरिएको थियो।

अफ्गान सरकारले आफ्नो देशको शान्ति प्रक्रियालाई सहयोग पुगोस् भनी मुल्लाहको रिहाइकालागि पाकिस्तानसित अनुरोध गरेको थियो।

इस्लामाबास्थित बीबीबीसीका संवाददाता अलिम मक्बुल भन्छन्, “तालिबानका संस्थापकहरू मध्येका एक र अफ्गान विद्रोहका सुत्राधारलाई त्यसरी रिहा गर्दा त्यो काबूल सरकार र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनकालागि प्रत्यूत्पादक हुने जस्तो देखिएपनि, वास्तविकता अर्कै छ।

“मुल्लाह बरादार, वार्ताको पक्षमा देखिएका केही तालिबानी वरिष्ठ नेताहरू मध्येका एक हुन् र अफ्गान सरकारले आफूलाई शान्ति प्रक्रियाको पक्षमा देखाउन खोजेको छ।“

'मेलमिलापमा बाधा'

यसअघि अफ्गान कुटनीतिज्ञहरूले तालिबानभित्रका चरमपन्थीहरूलाई बढी समर्थन गरेर पाकिस्तानले अफ्गानिस्तानभित्रको मेलमिलाप प्रक्रियालाई बाधा पु-याएको संकेत गर्ने गर्थै।

तालिबानले गत जुन महिनामा दोहामा एउटा राजनीतिक कार्यालय खोलेको थियो।

तर अफ्गान राष्ट्रपति हामिद कार्जाइले सो कार्यालयले आफूलाई निर्वासमा रहेको सरकार झैं देखाउन खोजेको आरोप लगाएपछि त्यसलाई बन्द गरिएको थियो।