सिरियाबाट अस्त्र भण्डारबारे थप विवरणको अपेक्षा

  • 21 सेप्टेम्बर 2013
रासायनिक अस्त्र नष्ट गर्ने प्रकृया
Image caption सिरियाको रासायनिक अस्त्र भण्डारलाई आगामी बर्षको मध्यसम्म नष्ट गरिसक्ने योजना छ

रासायनिक अस्त्र निगरानी सम्बन्धि अन्तर्राष्ट्रिय निकायले सिरियाले आफूसंग भएको रासायनिक अस्त्र भण्डारकाबारे प्रस्तुत गरेको विवरणको अध्ययन गरिरहेको र शनिबारको समयसिमा समाप्त हुनु अघि आफूले थप विवरणको अपेक्षा गरेको बताएको छ।

सिरियासंग एकहजार टन विषालु रासायनिक पदार्थ रहेको विश्वास गरिएको छ। र उक्त देशको समग्र रासायनिक अस्त्र भण्डारलाई आगामी बर्षको मध्यसम्ममा नष्ट गरिसक्ने लक्ष्य राखिएको छ।

सिरियाले, रुस र अमेरिकाबीच भएको सहमति अन्तरगत आफूसंग भएका रासायनिक अस्त्रहरुको विवरण हस्तान्तरण गर्न आरम्भ गरेको, रासायनिक अस्त्र निगरानी निकायले जनाएको छ।

प्रारम्भिक

द हेगस्थित उक्त निकायका एकजना प्रवक्ता माइकल लुहानले भनेका छन्, सिरियाले हाल उपलब्ध गराएको जानकरी प्रारम्भिक खुलासा मात्र हो।

उनले अब ति विवरणहरुको अध्ययन उक्त निकायको प्राविधिक सचिवालयले गरिरहेको बताउंदै प्रस्तुत गरिएको सामग्री बारेका विवरणका बारे जानकारी दिन अस्वीकार गरे।

रुस र अमेरिकाबीच सिरियाको रासायनिक अस्त्र भण्डारका सम्बन्धमा भएको सहमति अनुसार आगामी नोभेम्बर महिनामा, अस्त्र निरिक्षकहरु स्थलमा नै पुगेर काम शुरु गर्नेछन्।

त्यसबेला तिनीहरुले अस्त्रहरुको प्रारम्भिक प्रतिवेदन तयार पर्ने छन् र निश्चित उपकरणहरु नष्ट गर्ने प्रकृयाको रेखदेख गर्नेछन्। त्यसपछि सन् २०१४ को मध्येसम्ममा सिरियासंग रहेका सबै रासायनिक अस्त्रहरुलाई नष्ट गरिनेछ।

यसबारेको समयतालिकाका बारे उक्त अन्तर्राष्ट्रिय निगरानी निकायका सदस्यहरुले आगामी हप्ता मतदान गर्नेछन्।

अनुमोदन

उक्त निकायले एउटा योजना तयार पारिसकेपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले त्यसलाई अनुमोदन गर्नेछ।

सुरक्षा परिषदका पांच स्थायी सदस्यहरुले सिरिया बारेको मस्यौदा प्रस्तावमा राखिने शब्दहरुका सम्बन्धमा अझै छलफल गरिरहेका छन्, जस्मा सिरिया विरुद्ध बल प्रयोग गरिने धम्कीको विषयलाई रुसले विरोध गरिरहेको छ।

शुक्रबार मात्रै पनि ह्वाइट हाउसले, यदि सिरियाले सहमति भंग गरेमा उक्त देश विरुद्ध सैनिक कार्वाही गरिने विषय अझै टेबलमा नै रहेको बताएको थियो।

बीबीसीका सम्बाददाता पल एडम्स भन्छन्, जबसम्म अन्तर्राष्ट्रिय समुदायले सिरियाले सहयोग गरीरहेको छ भन्ने ठान्दछ तबसम्म सिरिया सरकारले आफूमाथि बम हमला हुंदैन भन्नेमा विश्वस्त रहन सक्दछ।